महामारीका कारण रुग्ण बन्दै विराटनगर को व्यावसायिक क्षेत्र

२६ भाद्र २०७७, शुक्रबार

 विराटनगर । भदाै २६

मोरङको विराटनगर महानगरपालिका क्षेत्रमा जारी निषेधाज्ञा खुकुलो भएसँगै बजार खुल्न थालेको छ ।कोरोना महामारीका कारण लामो समयसम्म बजार बन्द हुँदा समस्यामा परेका व्यवसायीलाई साँझ सात बजेसम्म बजार खोल्न पाइने भएपछि कारोबार गर्न सहज भएको हो ।

तर, संक्रमणको त्रासका कारण बजारमा मानिसको चहलपहल कम हुँदा व्यापार बढ्न नसकेको व्यवसायीको अनुभव छ ।
विगतमा भारतीय पक्षको नाकाबन्दीका कारण लामो समयसम्म सुस्त गतिमा चलेको विराटनगरको व्यवसाय कोरोना संक्रमणका कारण यस वर्ष पनि प्रभावित हुने भएको छ ।

व्यावसायिक गतिविधि सुस्त

लकडाउनयता विराटनगरमा सबै व्यावसायिक गतिविधि सुस्त बन्न पुगेको छ । मुख्य बजार क्षेत्रमा रहेका नाम चलेका पसलहरु समेत महङ्गो सटर भाडा तिर्न नसक्दा बन्द हुन थालेका छन् ।विराटनगरका चस्मा व्यवसायी आरिफ इराकी लकडाउनयता पसल खोलेपनि व्यवसाय ठप्पप्राय रहेको बताउँछन् । उनका अनुसार पहिलेको तुलनामा कारोबारमा ७०प्रतिशत गिरावट आएको छ ।
कपडा तथा जुत्ता व्यवसायी गुलाफ शेखका अनुसार बजार खुलेपनि यातायात सञ्चालन नहुँदा बाहिरबाट ग्राहक नआएकाले व्यवसाय संकटमा परेको हो ।

हाल सरकारले जिल्लाभित्र स्वास्थ्य सावधानीपूर्वक जोर बिजोर प्रणालीबाट यातायात सञ्चालनको अनुमति दिएको भएपनि अन्य जिल्लाबाट सवारी साधन प्रवेशमा रोक लगाएको छ । यसले गर्दा बाहिरबाट ग्राहक नआउँदा व्यवसाय खस्किएको हो । यसैगरी, सरकारले सीमा नाका बन्द गरेकाले भारतबाट आउने ग्राहक पनि आउने अवस्था छैन ।

यसका साथै लामो लकडाउन र निषेधाज्ञाका कारण अधिकांश श्रमजीवी वर्गको रोजगारी गुमेको छ । यसले गर्दा उनीहरूको क्रयशक्ति कमजोर भएको छ । लकडाउनको सुरुवाति चरणमा फुर्सदको सदुपयोग गर्न भन्दै विभिन्न खाद्य परिकार तयार गरी उपभोग गर्ने उपभोक्ताहरु अहिले निस्कृय भएका छन् । यसले खाद्य सामग्रीको व्यापारमा पनि मन्दी आएको छ ।


दसैंको रौनक छैन

यसपटक दसैँको समय नजिकिँदै जाँदा पनि बजारमा दसैंको रौनक देखिएको छैन । सबै व्यावसायिक गतिविधि ठप्प हुँदा पैसाको गतिशीलता घटेको छ । लगानीको वातावरण नभएर पैसा बैंकमा थन्किएको छ । सामान्य अवस्थामा मानिसको हातमा हुने पैसा बैंकमा थन्किएपछि पैसा खर्च हुन नसक्दा व्यापार घटेको हो ।

दसैंमा राम्रो लुगा लगाउने र मीठो खाना खाने भन्दै मानिसले विभिन्न खानेकुरा तथा लत्ताकपडा खरिदमा उल्लेख्य रकम खर्च गर्ने गरेका थिए । यसले गर्दा दसैंमा सबै व्यवसायीको कारोबार बढ्ने गरेको थियो ।

लकडाउनयता यातायात क्षेत्र पनि बन्द भएको छ । यसले यससँग जोडिएका करिब २१ लाख मजदुर बेरोजगार भएका छन् । यसले उनीहरु दसैं मनाउने भन्दा पनि ज्यान बचाउने उपायको खोजीमा रहेका छन् ।सीमा नाका बन्द हुँदा दसैं लक्षित आयात पनि हुन सकेको छैन । हाल देशभरका भन्सार कार्यालय सुनसान रहेको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार दसैं लक्षित आयातको प्रक्रिया हालसम्म सुरु भएको छैन ।दसैंमा गरिँदै आएको बजार अनुगमनले भने यस पटक पनि निरन्तरता पाउने भएको छ ।

यसका लागि २० जना जनशक्ति थप गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।यसैगरी, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तीन हजार खसी तथा च्याङ्ग्राका साथै १० हजार मेट्रिक टन चिनी आयातको प्रक्रिया अघि बढाएको कम्पनीका प्रमुख कार्यकारी निर्देशक नेत्रप्रसाद सुवेदीले बताए।।।

 

 

https://youtu.be/2tkDS660mfk