विराटनगर १९ को पहिलो संक्रमितको मृत्यु

२६ भाद्र २०७७, शुक्रबार
सांकेतिक तस्वीर

विराटनगर महानगरपालिकाको वडा नम्बर १९ मा बिहिबारसम्म कसैलाई कोरोना पुष्टि भएको थिएन । तर बिहिबार नै संक्रमण पुष्टि भएको पहिलो व्यक्तिको नै मृत्यु भएको छ ।विराटनगर–१९ मिलनचोकमा चिया पसल चलाएर बस्दै आएकी ४० वर्षीया महिलाको बिहीबार साँझ ७:१० बजे उपचारकै क्रममा मृत्यु भएको थियो । कोभिड १९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले उच्च रक्तचाप र मोटोपनाको समस्या रहेकी ४४ वर्षीय महिलाको बिहिबार बेलुका मृत्यु भएको जनाएका छन् ।

केहिदिनदेखि ज्वरो आएर सिकिस्त भएकी महिलालाई उपचारका लागि कोसी अस्पताल पुर्याइएको र अस्पतालले उनमा कोरोनाको लक्षण देखिएको भन्दै आइसोलेसनमा राखेर स्वाब संकलन गरेको थियो ।उनलाई श्वासप्रस्वासमा समस्या देखिएको र शरीरमा अक्सिजनको मात्रा १८ प्रतिशतमा झरिसकेको अवस्थामा थप उपचारका लागि कोभिड १९ उपचार केन्द्रमा पुर्याएपछि मृत्यु भएको हो।

चिया पसल संचालन गर्ने उनको कोरोना संक्रमणका कारण मृत्यु भएपछि पसल बन्द गरिएको छ साथै संक्रमित महिलाको सम्पर्कमा आएकाको पहिचान गरेर आइतबारबाट कन्ट्याक्ट ट्रेसिङ गर्ने विराटनगर–१९ का वडाध्यक्ष बद्रीनारायण सरदारले बताएका छन् ।विराटनगर महानगरपालिकाका बाँकी १८ वटा वडामा गरी एक हजार तीनसय बढीलाई कोरोना पुष्टि भइसक्दा विराटनगर १९ भने संक्रमणविहिन थियो ।