अपहरणको फरक शैली, शारीरिक सम्बन्ध राख्न बोलाएर अपहरण

२६ भाद्र २०७७, शुक्रबार
Setopati

काभ्रेमा एक पुरूषलाई अपहरण गरेर फिरौती रकम मागेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा धुलिखेल नगरपालिका-४ स्थित २८ किलो डेरा गरी बस्ने १९ वर्षीय आकाश परियार, उनकी २१ वर्षीय श्रीमती सविना तामाङ र उमा परियारलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका डिएसपी कुमार विक्रम थापाका अनुसार आकाश र सविनालाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो भने उमालाई शुक्रबार पक्राउ गरेको हो ।यस घटनामा संलग्न अरु दुई जना अझै फरार छन्।

उनीहरूले काभ्रे पाँचखाल नगरपालिका-१२ देवभूमि बस्ने २३ वर्षीया एक पुरूषलाई बुधबार शारीरिक सम्बन्ध राख्नका लागि बोलाएपछि अपहरण गरेको डिएसपी थापाले बताएका छन् ।

आकाशकी श्रीमती सविना र ती पुरूषको पहिले नै फोनमार्फत् चिनजान भइसकेको र सबिनाले ती पुरूषलाई बुधबार शारीरिक सम्बन्ध राख्ने भन्दै भेट्न बोलाएपछि उनीहरू धुलिखेलको २८ किलोमा भेट भएर जङ्गलमा गए । उनीहरू जंगलमा पुग्ने बित्तिकै आकाश आएर त मेरो श्रीमतीसँग शारीरिक सम्बन्ध राख्ने भन्दै कुटपिट गरेको र पछि ५० हजार मागेको डिएसपी थापाले बताए ।

‘उनीहरूले पूर्वयोजना बनाएर शारीरिक सम्बन्ध राख्ने भन्दै बोलाउने अनि लुट्ने गरेको देखियो’ थापाले भने । तर ती पुरूषसँग पैसा नभएपछि कुरा बाहिरिएको उनले बताए।
ती पुरुषसँग पैसा नभएपछि उनीहरूले बन्धक बनाएर राखे। ती व्यक्तिले अर्कैलाई पैसा मगाएपछि कुरा बाहिरिएको थापाले बताए ।

प्रहरीले खबर पाएपछि ती पुरूषलाई बुधबार राति साढे ११ बजे उद्धार गरेको थियो। उनीहरूले अरूलाई ठगेका थिए कि थिएनन् भन्ने खुल्न सकेको छैन ।

उनीहरूमाथि प्रहरीले जिल्ला अदालत काभ्रेबाट हिरासतमा राखी अनुसन्धान गर्न अनुमति लिएर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-१७ अपहरण वा शरीर बन्धकसम्बन्धी कसूरमा अनुसन्धान अघि बढाएको छ ।