भारतको प्रस्तावका बावजुद उडान सुरु गर्न दूतावास उदासिन

२७ भाद्र २०७७, शनिबार

कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेको नेपाल-भारत हवाई सेवा सुरु हुन नसक्दा भारतमा रहेका नेपाली मर्कामा परेका छन् ।

सरकारले अन्य २० ओटा मुलुकबाट नेपालीलाई स्वदेश फिर्ता ल्याउन भदौ १६ गतेदेखि असोज १४ गतेसम्म नियमित र चार्टर्ड गरी एक सय ४२ उडान तय गरे पनि भारतमा हालसम्म उडान सुरु नहुँदा अध्ययन,उपचार,जागिरजस्ता विभिन्न कामका सिलसिलामा भारतमा रहेका नेपाली स्वदेश फर्कन नसकेका हुन् ।

लकडाउनअघि नेपाल वायुसेवा निगमबाट दिल्लीका लागि प्रत्येक हप्ता १४ तथा मुम्बई र बैंगलोरका लागि प्रत्येक हप्ता तीन उडान सञ्चालनमा रहेकोमा हाल सबै उडान ठप्प छन् ।

भारतका नागरिक उड्ययन मन्त्री हरदीपसिंह पुरीले एयर बबल सम्झौता गरी तोकिएको संख्यामा उडान भर्न सकिने बताएका थिए । यसैगरी, दिल्ली एयरपोर्ट अथोरिटिले पनि उडान सुचारु गर्न नेपाली दूतावासलाई आग्रह गरेको थियो । तर दुतावासले समन्वय नगर्दा उडान सुरु हुन सकेको छैन ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले पनि भारतको तर्फबाट उडानको लागि प्रस्ताव आएको स्वीकार गरेका छन् । हप्तामा एउटा उडान सञ्चालन गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।।।