दमकका विपन्न परिवारको भरोसा – द हिमालयन टाइगर

२७ भाद्र २०७७, शनिबार

अत्यावश्यक सामाग्रीकाे हाेम डेलिभरी गरिदिँदै

विराटनगर । भदाै २७

महामारीका कारण लगातारको लकडाउनका कारण विपन्न परिवारको जीवन निर्वाहमा समस्या भएको भन्दै झापाको दमकमा पनि क्लब हिमालयन टाइगर नामक क्लबले फुड बैंक सञ्चालन गरेको छ ।

फाेटाे तथा भिडियाे- द हिमालयन टाइगर क्लब

उक्त क्लबले विभिन्न खाद्य लगायतका दैनिक उपभोग्य सामग्री दमकभित्रका विभिन्न स्थानमा पुगेर वितरण गर्दै आएको छ। भदौ ११ गतेदेखि सुरु भएको फुड बैंकलाई मोबाइल बैंकका रुपमा विभिन्न स्थानमा लैजाने गरिएको क्लबका महासचिव कुमारबाबु गजुरेलले जानकारी दिएका छन् । ‘जसका घरमा अत्यावश्यक सामाग्री अभाव हुन्छ वहाँहरू फोन गर्नुहुन्छ हामी घरैमा पुर्याउँदै आएका छौं’- उनले भने।

स्वास्थ्य मापदण्डमा रही सामाजिक दूरी पनि कायम गर्दै संस्थाले दैनिक उपभोग्य दाल, चामल, तेल, साबुन स्वायबिन, मास्क तथा महिलाहरूका लागि प्याडसमेत वितरण गर्ने गरेको छ।

 

‘हुनेले दिएर जाऊँ , नहुनेले लिएर जाऊँ ‘ भन्ने नारासहित कार्यक्रम थालिएको क्लबका अध्यक्ष रेवतचन्द्र भण्डारीले जनाएका हुन् । करिब २ सय परिवारलाई अत्यावश्यक सामग्री वितरण गरिसकियो अझै यसलाई बढाएर लैजाने उनको भनाइ छ।

देशव्यापी रूपमा परेको विपद्मा विपन्न वर्गलाई भोकले मर्न नदिऊँ भन्ने पवित्र भावनाले थालिएको फूड बैंकमा सोही क्लबका सदस्य तथा केही स्वतस्फूर्त सहयोग गर्ने दाताले सहयोग गरेकाले सञ्चालित छ।

सुरुमा मोबाइल फुड बैंक दमकका विभिन्न चोकका राखिएको छ भने भुटानी शरणार्थीहरू रहेको बेलडाँगीमा पनि सञ्चालन गरिएको छ। प्रत्येक घरलाई ५ केजी चामल, एक केजी दाल, अधा लिटर तेल, आधा सोयाबिन, आधा केजी भुजा तथा महिलाहरुलाई प्याड र मास्कसमेत वितरण गर्ने गरिएको छ।

सर्वसाधारणहरू फुडबैंकसम्म आउने र भीड बढेर संक्रमणको डर रहेकाले घरैमा पुर्याउन थालिएको अध्यक्ष भण्डारीले जानकारी दिए। उनले भने- ‘ हुने खाने र हुँदा खानेहरूको बढ्दो अन्तरले मजदुर तथा विपन्नहरूको दैनिकी नै चल्न छोडेपछि देशव्यापी रूपमा चलेको फूड बैंक अभियानलाई हामीले बृहत् रूपमा सञ्चालन गरेका हौं।’