नेपालबाट चीन फर्केका चिनियाँ नागरिकमा फेरि कोरोना पुष्टि

मनाेज पाेख्रेल

२७ भाद्र २०७७, शनिबार

विराटनगर । भदाै २७

लामो समयसम्म नेपालमा नै बसिरहेका दुई चिनियाँ नागरिकमा चीन पुग्नेबित्तिकै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँबाट चीन जानु अघि तीन दिनको म्याद भएको पीसीआर नेगेटिभ रिपोर्ट पेश गरेको भए पनि चीन पुगेको भोलिपल्टै ज्वरो आएपछि गरिएको परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमणको पुष्टि भएको चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआईले जनाएको छ ।

काठमाडौँबाट चिनियाँ भाषामा सञ्चालित नेपाल एक्सप्रेस (निपोअर ख्वाइस्यून) ले जनाएअनुसार सङ्क्रमित दुवै पुरुष आइतबार एअर चाइनाको काठमाडौँ-छन्तु नियमित उडान सीए ४३८ बाट चीन पुगेका थिए । छन्तु पुग्दासम्म उनीहरूमा स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिए पनि भोलिपल्ट दुबैलाई ज्वरो आएको थियो । कोरोना पुष्टि भएपछि उनीलाई आइसोलेनमा उपचारको लागि अस्पताल भर्ना गरिसकिएको बताइएको छ ।

सङ्क्रमितमध्ये ५४ वर्षीय वाङ मौमौ डेढ वर्षअगाडि काम गर्न र २६ वर्षीय छन मौमौ पर्यटकको रूपमा पाँच महिनाअगाडि मात्रै नेपाल आएका थिए । आइतबार नै छन्तु पुगेका उनीहरूमा सोमबार गरिएको परीक्षणबाट सङ्क्रमण पुष्टि भएको थियो । स्थानीय सरकारले मङ्गलबारमात्रै उनीहरूको यात्रा विवरणसहितको जानकारी सार्वजनिक गरेको थियो ।

नेपालको पीसीआर परीक्षणको गुणस्तर र रिपार्टमाथि प्रश्न उठाउने ठाउँ भए पनि परीक्षणपछि उनीहरू सङ्क्रमित भएको हुनसक्ने नेपाल एक्सप्रेसले जनाएको छ । कारण जे भए पनि नेपालमा कोरोना भाइरसको महामारी डरलाग्दो अवस्थामा रहेको सङ्केत गर्दै चिनियाँ नागरिकहरूलाई सतर्कता अपनाउन उसले सुझाएको छ ।

चीनले काठमाडौँ उपत्यकाका स्टार, ह्याम्स र काठमाडौँ मेडिकल कलेज, शिक्षण अस्पताल सिनामङ्गलको पीसीआर रिपोर्टलाई मात्रै मान्यता दिने भन्दै नेपालबाट चीन जान चाहनेले तीमध्ये कुनै एकमा परीक्षण गराउन कडाइकासाथ निर्देशन दिएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले पनि सोमबार कोरोना भाइरसको महामारी नेपालमा यथावत रहेको उल्लेख गर्दै उसका नागरिकलाई नेपाल सरकारले लागू गरेको निषेधाज्ञाको पूर्णरूपमा पालना गर्दै सचेत र सुरक्षित रहन फेरि आग्रह गरेको छ ।