२१ देखि ३० बर्ष उमेरका युवामा संक्रमण दर धेरै

२७ भाद्र २०७७, शनिबार

विराटनगर । भदौ २७

शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या कूल ५० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बिहीबारसम्म कुल संक्रमित हुनेको संख्या ५० हजार ४ सय ६५ पुगेको हो ।

५० हजार संक्रमित संख्या नाघ्दा बढी संक्रमित हुनेमा २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

जसमा कूल संक्रमितमध्ये १७ हजार २ सय ६१ जना संक्रमित २१ देखि ३० वर्ष उमेर समूहका छन्। तथ्याङ्क अनुसार पुरुष १३ हजार १ सय ६० र महिला ४ हजार १ सय १ जना छन्। समग्रमा जम्मा संक्रमितको ३४ प्रतिशत संक्रमित २१ देखि ३० वर्ष उमेर समूहका छन्।

बढी संक्रमित हुनेको दोश्रो शृङ्खलामा ३१ देखि ४० वर्ष उमेर समूहका व्यक्ति छन्। यो समूहका १२ हजार ९ सय १३ जना संक्रमित छन्।
जसमा कुल संक्रमितको झन्डै आधा संक्रमित २१ देखि ४० वर्ष उमेर समूहका छन्।

संक्रमितहरूमध्ये ८० वर्ष माथिका भने जम्मा २ सय २२ जना छन्। यसैगरी ६१ देखि ८० वर्ष समूहका संक्रमित संख्या भने २ हजार २ सय ७६ छ।

यसैगरी ११ देखि २० वर्ष उमेर समूहका संक्रमित जम्मा ५ हजार ३ सय २३ जना छन्। १० वर्ष मुनिका संक्रमित बालबालिकाको संख्या भने एक हजार ७ सय ९५ जना छ।

माथिको तथ्याङ्कले के देखाउँछ भने जो बढी घरबाट बाहिर निस्कनुपर्ने उमेरको व्यक्ति छ सोही अनुसार संक्रमणको डर हुने रहेछ। सबोभन्दा थोरै संक्रमण रहेको ८० बर्षमाथिको उमेर समूहका मानिस उसो त थोरै छन् भने उनीहरू घरबाट खासै बाहिर निस्कनुपर्ने हुँदैन।

सबैभन्दा बढी युवा संक्रमित हुनुमा बाहिरी कामधनादामा बढी संलग्न हुनु हो। यसबारे विस्तृत समाचार सेतोपाटीमा प्रकाशित छ।