छात्रालाई बलात्कार गरेको आरोपमा स्कुलका प्रिन्सिपल पक्राउ

२७ भाद्र २०७७, शनिबार
सांकेतिक तस्वीर

विराटनगर । भाद्र २७

आफ्नै विद्यालयको छात्रावासमा बस्ने छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा पाँचथरमा प्रहरीले एक स्कुलका प्रिन्सिपललाई हिरासतमा लिएर अनुसन्धान थालेको छ ।

पाँचथरको फिदिम नगरपालिकास्थित निलकण्ठ बोर्डिङ स्कुलका प्रिन्सिपल कुलराज सुब्बालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको हाे ।

कक्षा ७ मा अध्ययनरत विद्यालयकै छात्रावासमा बस्ने चौध वर्षीया छात्राले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पछि जाहेरीका आधारमा सुब्बालाई पक्राउ गरी अदालतबाट म्याद थपेर अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक प्रवक्ता रोमनराज अर्यालले बताएका छन् ।

छात्राले दिएको जाहेरीमा गृहकार्य सिकाउने क्रममा सुब्बाले १५ दिन अघिदेखि अनैतिक व्यवहार गरेको र २० गते जबरजस्ती करणी गरेकी बताएकी छिन् । छात्राको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

बलात्कारको आरोपसहित प्रहरीमा जाहेरी परेपछि छानबिनका लागि सहयोग पुर्‍याउन विद्यालय व्यवस्थापनले सुब्बालाई निलम्बन गरिएको सञ्चालक समिति अध्यक्ष विमला अधिकारीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।