८० बर्षदेखि निराहार सन्यासी प्रह्लाद जानीको निधन

२७ भाद्र २०७७, शनिबार

नयाँ दिल्ली । भदौ २७

भारतका ८० बर्षदेखि निराहार तपस्याारत सन्यासीको शनबिार मृत्यु भएको छ । भारतको गुजरात राज्यको मेहसाणा जिल्लामा रहेका ९० बर्षीय प्रह्लाद जानी नामका एकजना साधुको शनबिार मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

समाधिस्थ गर्न लागिएका जानी बाबा

१० बर्षमै घर छाडी सन्यस्त जीवनयापन गर्दै आएका जानीले विगत ८० बर्षदेखि न जल त न खाना नै खाएका थिए । डिस्कभरी लगायत च्यानलहरुले ती सन्तका बारेमा विस्तृत खोज तथा अनुसन्धान गरेका थिए ।
चुनरीवाले माताजीका नामले पनि चिनिएका ती सन्तले जीवनमा कठीन साधना गरेको र उनलाई साक्षात् अन्नपूर्णा माताले दर्शन दिएपछि उनी निराहार रहन सकेको जनविश्वास छ भने कयौँ वैज्ञानिक खोज समेत उनीमथि भएको छ तर कसैले के कारण केही नखाई यतिका समय बाँच्न संभव भएको हो भनेर निष्कर्ष निकाल्न सकेका थिएनन् ।

आफू १००० बर्ष बाँच्ने दाबी गर्दै आएका जानी बाबाको शरीर तन्दुरुस्त रहेको चिकित्सकहरुले बताउँदै आएका थिए । यिनका नजीकका अनुयायीहरुले जानी बाबाले सूर्यको रोसनीबाट तेज ग्रहण गर्ने हुँदा उनलाई कहिल्यै तृष्णा नहुने बताएका छन् ।
शनिबार ९० बर्षको उमेरमा जानी बाबाले समाधि लिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सन्यासीको मरणोपरान्त शरीर इच्छानुसार कि पानीमा बगाइन्छ कि माटोमा गाडिन्छ । जानी बाबाको अन्त्येष्टि भने सन्यास परम्परानुरुप माटोमा समाधिस्थ गरिएको छ ।