
विराटनगर । भाद्र २८
उदयपुरको कटारी नगरपालिका–११ लखनथुम्का बस्ने ५० बर्षीया महिलालाई खुकुरी प्रहार गरेर हत्या गरेको आरोपमा प्रहरीले विनोद भनिने रोशन राना मगरलाई पक्राउ गरेको छ ।
२५ वर्षीय मगरले शनिबार बिहान करिब साढे ८ बजे घरमै बसिरहेको अवस्थामा सोहि स्थानमा बस्ने डोरकुमारी राउतमाथि एक्कासी लछारपछार गर्नुका साथै साथमै बोकेको खुकुरीले शरिरका विभिन्न भागमा प्रहार गरेका थिए । खुकुरीले प्रहार गर्दा टाउकोमा गम्भीर चोट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।
ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले फरार रहेका मगरलाई कटारी नगरपालिका–११ स्थित हात्तीसुँडेको जङ्गलबाट बिहान साँढे ११ बजे नियन्त्रणमा लिएको छ ।
मगरलाई हिरासतमा लिएर घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।