राजस्व संकलन खुम्चिएपछि सरकारले लियो पहिलो महिनामा नै झन्डै तीन अर्बको ऋण

२८ भाद्र २०७७, आईतवार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । भदाै २८

सरकारले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै वैदेशिक सहायता २ अर्ब ४८ करोड ६२ लाख प्राप्त गरेको छ भने ५४ अर्ब ९४ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता आएको छ । सहायता आइसकेको रकम शतप्रतिशत ऋण सहायता भएको अर्थ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ऋण प्रतिबद्धता बढी रहेकोमा केवल ९४ करोड रुपैयाँ मात्रै अनुदानको रुपमा प्रतिबद्धता प्राप्त भएको छ । वैदेशिक सहायता प्रतिबद्धतामा ऋणको अंश ९८.३ प्रतिशत र सहायताको अंश १.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ को पहिलो महिना जम्मा ९५ करोड रुपैयाँको प्रतिवद्धता प्राप्त भएकोमा चालु आर्थिक वर्षको पहिलो महिनामा प्रतिबद्धता रकम बढेको हो । गत आर्थिक वर्ष २०७६/०७७ मा कुल २ खर्ब १९ अर्ब रुपैयाँको प्रतिवद्धता प्राप्त भएको थियो ।

यस्तै सरकारले पहिलो महिनामा तिर्न बाँकी ऋणको ब्याज १ अर्ब १९ करोड ३० लाख रुपैयाँ बुझाएको छ । यसमा वैदेशिक ऋणको साँवा ६० करोड ५ लाख र व्याँज २८ करोड ८१ लाख भुक्तानी भएको छ ।

आन्तरिक तर्फको ऋणको ब्याज ३० करोड ४४ लाख रुपैयाँ समेत सरकारले भुक्तानी गरेको छ । हालसम्म संघीय सरकारले तिर्न बाँकी आन्तरिक तथा बाह्य ऋण १३ खर्ब ७२ अर्ब ८९ करोड रहेको छ ।

राजस्व संकलन प्रभावित भएपछि खर्चको स्रोत जुटाउन पनि सरकारले ऋणमा जोड दिएको देखिन्छ। कोरोना महामारीका कारण आम्दानी खुम्चिएको र खर्चका आवश्यकता झन् बढ्दै गएपछि सरकार ऋणतर्फ बढी केन्द्रित भएको हो । त्यस्तै चालु आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलन पहिलेको भन्दा खुम्चिएको छ । यस वर्षको साउनमा ५८ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन भएको छ जबकि गत वर्षको साउनमा ६६ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो । गत वर्षको यसै अवधिको तुलनामा यस वर्ष झण्डै १२ प्रतिशतले राजस्व संकलनमा कमी आएको हो ।

राजस्वमा मूल्य अभिबृद्धि करको सबैभन्दा बढी ३६ प्रतिशत हिस्सा रहेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । यस्तै आयकर २९ प्रतिशत, भन्सार महसुल १७ प्रतिशत, अन्तशुल्क १३ प्रतिशत, गैरकर राजस्व ४ प्रतिशत र अन्य राजस्वको हिस्सा १ प्रतिशत रहेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ।