विराटनगरमा ३८ सहित प्रदेश १ मा ४६ जनामा कोरोना संक्रमण पुष्टि

२८ भाद्र २०७७, आईतवार

विराटनगर । भदौ २८

मोरङको विराटनगरमा ३८ जना सहित प्रदेश १ मा आइतबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका अनुसार आज ४६ जनामा संक्रमण पुष्टि भएको हो।

विराटनगरमा १७ महिला २० पुरुष छन् भने धनपालथान गाउँपालिकाका दुई जना पुरुष संक्रमित थपिएका छन्। त्यस्तै कटहरी गाउँपालिकामा एक पुरुष पनि संक्रमित भएका छन्।

उता खोटाङको साकेला गाउँपालिकाका १ पुरुष, स्थानीयता नखुलेको उदयपुरका १ पुरुष, शिवशताक्षी नगरपालिका झापाकी एक महिला तथा प्रदेश बाहिरका एक-एक महिला र पुरुष थप भएको मन्त्रालयले सार्वजनिक गरेको छ।

प्रदेशभर गरिएको कूल ५४७ परीक्षणमध्ये ४६ जनाको पोजिटिभ देखिएको हो। हालसम्म १ लाख ७ हजार ५ सय ३३ जनाको परीक्षण भएकोमा कूल संक्रमितको संख्या ४ हजार ७ सय ४२ पुगेको छ। आइतबार प्रदेशमा मृतकको संख्या शून्य रहेको छ।

प्रदेशभरबाट आइतबार निको हुनेहरूको संख्या जम्मा ७ रहेको छ। मेची अस्पताल झापा आइसोलेसनबाट ३ महिला र ४ पुरुष छन्। कूल संक्रमितमध्ये २ हजार ६३ जना निको भएर घर फर्किएका छन् भने २हजार ६ सय ३२ जना उपचाररत छन्। शनिबारसम्म कूल ४७ जनाको निधन भैसकेको छ ।