नेकपाका नेताहरूकाे सामाजिक सञ्जालमा दाेहाेरी

२८ भाद्र २०७७, आईतवार

विराटनगर । भदाै २८

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा उत्पन्न विवादको शुक्रबार सम्पन्न स्थायी कमिटि बैठकले किनारा लगाएपनि नेताहरुबीच घोचपेच र दोसारोपणको भने अन्त्य भइसकेको छैन । नेताहरुको कार्यविभाजन, सरकारलाई पार्टी कमाण्डमा सञ्चालन गर्ने र महाधिवेशनमा जानेगरी बैठकले निर्णय लिएसॅगै विभाजनको डिलमा पुगेको नेकपालाई जोगाएको छ ।

बैठक सकिएपछि आफ्नो पक्षको अडान सहि रहेको दाबी गर्दै अर्को पक्षलाई गलत रहेको सावित गर्ने प्रयासमा नेताहरु उत्रिएका छन् । सामाजिक सञ्जालमा सक्रिय रहने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सहमति छोडेर प्रचण्ड समिकरणमा जान खोज्दा भएको भन्दै प्रचण्ड-नेपाल पक्षलाई व्यंग्य प्रहार गरेपछि सामाजिक सञ्जालमा घोचपेच सुरु भएको हो ।

पोखरेलले फेसबुकमा लेखेका छन् ‘दुई पार्टीबीचको एकता समस्या थिएन र होइन । समस्या त सहमति छोडेर समिकरणमा जान खोज्दा भयो । हिजोको बैठकले पुनःएकताको बाटो रोजेको छ ।’ उनले प्रचण्ड-नेपाल समूहले समस्या पैदा गरेको भन्दै त्यसको बैठकबाट समाधान भएको दाबी गर्दै प्रचण्ड-नेपाल पक्षधरमाथि व्यङ्ग गरेका हुन्।

तस्वीर- फेसबुक वाल

पार्टी स्थायी समिति सदस्य रहेका पोखरेलको स्टाटसमा धेरैले प्रदेशको नामाकरण र राजधानी तोक्न नसकी केन्द्रको गुटबन्दीमा मात्र लागेको भन्दै आलोचना समेत व्यक्त गरेका छन् ।

पोखरेललाई प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले भने फेसबुकबाटै जवाफ फर्काएका छन् । पार्टी केन्द्रीय सदस्य आङ्बोले सहअस्तित्व, समानता र निश्चित सहमतिहरुको आधारमा संयुक्त गठबन्धन हुँदै पार्टी एकता भएको स्मरण गर्दै समान भूमिकाको सारथि र सहमति प्रधानमन्त्रीले भुलेको कारण समस्या आएको र प्रधानमन्त्री पुरानै बाटोमा एक्लै यात्रा गर्दा समस्या आएको भन्दै उनले स्थायी समिति बैठकले समस्याको पहिचान र निराकरण गरेर फेरि पार्टी र एकता प्रक्रियालाई ठीक ठाउँमा ल्याएको बताएका छन् ।

तस्वीर-
माैसमकाे फेसबुक वाल

पार्टी निर्णय र सहमतिको दृढतापुर्वक कार्यान्वयन गर्दै पार्टी र सरकारलाई गतिशिल बनाउनुपर्नेमा आङ्बोले जोड दिएका छन् । उनले लेखेका छन्, ‘कुरा त्यसो होइन कमरेड, सहअस्तित्व, समानता र निश्चित सहमतिहरुको आधारमा संयुक्त गठबन्धन हुँदै पार्टी एकता भएको थियो। समान भूमिकाको सारथि र सहमति भुलेर पुरानै बाटोमा एक्लै यात्रा गर्दा समस्या आएको हो, स्थायी समिति बैठकले समस्याको पहिचान र निराकरण गर्दै फेरि पार्टी र एकता प्रक्रियालाई ठिक ठाउँमा ल्याएको छ। अब निर्णय र सहमतिको दृढतापुर्वक कार्यान्वयन गरौ पार्टी र सरकारलाइ गतिशिल बनाउ ।’

बैठक पछाडी भएको यो छेडछाड र घोचपेचले अहिले सामाजिक सञ्जाल तताएको छ ।