कूलमानको म्याद थप्न छोडेर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा निमित्त दिने तयारी

२८ भाद्र २०७७, आईतवार
तस्वीर साभार

विराटनगर । भदौ २८

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङको आइतबारबाट अनिवार्य अवकाश भएको छ। कूलमानको पुनरागमनको निकै हल्ला चलेपनि सरकारले उनको पुनर्बहाली अस्वीकार गरेको हो।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्तिसम्बन्धी कार्यविधिअनुसार घिसिङको पुनः म्याद थप गर्न नमिल्ने भन्दै उर्जा मन्त्रालयले घिसिङको म्याद थप नगरेको बताइएको छ।

उर्जामन्त्री बर्षमान पुनका प्रेस सल्लाहकार दयानिधि भट्टका अनुसार कूलमानको म्याद थप गर्न नियमले नै मिल्दैन , कसरी गर्ने ? उनले भने- आजसम्म घिसिङको समय बाँकी रहेकाले सोमबार प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशकलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिने तयारी भइरहेको छ।

कूलमानको चार बर्षे कार्यकाल आजबाट सकिएको हुँदा घिसिङले सोमबारबाट अवकाश पाउनेछन् । उर्जा मन्त्रालयले भने प्राधिकरणका वरिष्ठ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिने तयारी गरिरहेको बताइएको छ । आजसम्म घिसिङको म्याद बाँकी रहेकाले अवकाशपछि शाक्यलाई निमित्त तोकिने भट्टले जानकारी दिएका छन् ।

नेपालमा दैनिक १८ घण्टासम्म रहेको लोडसेडिङ अन्त्य गर्न सक्रिय भूमिका खेलेकाले उनको म्याद थप गर्न सामाजिक सञ्जालमा चर्को आवाज उठिरहेपनि उर्जा मन्त्रालयको कार्यविधिमा कार्यकारी निर्देशकको म्याद थप गर्ने प्रावधान नरहेकोले प्रतिस्पर्धाबाट छनोट गर्नुको विकल्प नरहेको बताएको मन्त्रालयले बताएको छ । म्याद थप गर्ने हो भने उक्त कार्यविधि नै खारेज वा संशोधन गर्नुपर्ने र एउटा व्यक्तिको लागि कार्यविधि नै हेरफेर गर्ने कुरा गर्न असंभव रहेको मन्त्रालयको जिकिर छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीले उर्जासचिव दिनेश घिमिरेलगायतलाई बोलाएर घिसिङको नियुक्ति सम्बन्धमा बिहीबार छलफल भएको थियो । छलफलमा घिसिङलाई निरन्तरता दिन कानुनी अडचन देखेपछि सो बिषय प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डसमक्ष पुगेको थियो।

मुख्यसचिवस्तरको सो बैठकबाटै घिसिङको निरन्तरता बारे संभावना नरहेकाले टुङ्गिएको जनाइएको छ । यदि सरकारले चाहेको भए कानुनी अडचनलाई तत्कालै मन्त्रिपरिषदले हटाएर भए पनि कुलमानलाई पुनर्नियुक्ति गर्न सकिने संभावना रहेपनि प्रम ओली र उर्जामन्त्री पुन नै सकारात्मक नहुँदा घिसिङको म्याद थप हुन नसकेको प्रष्टै देखिन्छ। उता निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउन हितेन्द्रदेव शाक्यले लगातार प्रधानमन्त्री पत्नी राधिका शाक्यमार्फत लबिङ गरिरहेको बताइएको छ।