एसिड आक्रमण गर्नेलाई २० वर्ष कैदको प्रावधानसहित दुई अध्यादेश जारी हुँदै

२९ भाद्र २०७७, सोमबार

 

विराटनगर, भदौ २९

सरकारले एसिड आक्रमण र खरिद-बिक्री नियन्त्रण गर्न दुई छुट्टाछुट्टै अध्यादेश जारी गर्ने भएको छ ।

गृह मन्त्रालयको सुझाव समेटेर कानून मन्त्रालयले तयार गरेको दुवै अध्यादेशको मस्यौदा नेपाल कानून आयोगमा पठाइएको छ।

एसिड आक्रमण,कैद,जरिवाना र क्षतिपूर्ति तथा एसिड खरिद-बिक्री, आयात,भण्डारण र प्रयोगलाई व्यवस्थित गर्न दुई छुट्टाछुट्टै अध्यादेश जारी गर्न लागिएको हो ।

अध्यादेशको मस्यौदामा एसिड आक्रमणबाट पीडितको मृत्यु भए अभियुक्तलाई जन्मकैद हुने व्यवस्था यथावत राखी शरिर अङ्गभङ्ग र कुरुप बनाए २० वर्ष कैदको कडा प्रावधान राखिएको छ ।

हाल एसिड आक्रमणबाट अङ्गभङ्ग भए अभियुक्तलाई अधिकतम आठ वर्ष कैदको व्यवस्था छ ।

एसिड आक्रमण पीडितसँग गत बिहीबार भेट गरी प्रधानमन्त्री केपी शर्मा ओलीले यसविरुद्ध कडा कानून ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । एसिड पीडितको हेरचाह सरकारले गर्ने पनि उनले बताएका थिए ।

यसअघि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्वारा गृहसचिव महेश्वर न्यौपानेलाई एसिड आक्रमणविरुद्ध कडा कानून ल्याउन सुझाव प्राप्त भएकोमा सो सुझाव प्रधानमन्त्रीलाई बुझाइएको थियो ।

देशभर एसिड आक्रमणका १७ ओटा घटना भएकोमा सबै आरोपी पक्राउ परेको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताए ।

गृह मन्त्रालयका कानून महाशाखा प्रमुख पुष्कर सापकोटाले एसिड आक्रमण र खरिद-बिक्री नियन्त्रण गर्न कडा कानून ल्याउन लागिएको बताए ।।।