चिकित्सा शिक्षामा सुधारको माग राख्दै जुम्लामा गरे केसीले १९औं सत्याग्रह सुरु

२९ भाद्र २०७७, सोमबार
तस्वीर- साभार

विराटनगर । भदाै २८

चिकित्सा शिक्षामा सुधारको माग राख्दै डाक्टर गोविन्द केसीको जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा १९ औं सत्याग्रह सुरु भएको छ ।

नेपालीहरुको नि:शुल्क गुणस्तरीय शिक्षा तथा स्वास्थ्य सेवामा समान पहुँचको सुनिश्चितता र सरकारविरुद्ध जुम्लामा १९ औं सत्याग्रह सुरु गरेको डा.गोविन्द केसीले बताएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस लगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नम्बर २ र गण्डकी प्रदेश तथा डोटी, डेडेलधुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण प्रक्रिया अघि बढाउनु पर्ने लगायतका मागहरु सहित उनले १९ औं सत्याग्रह सुरू गरेका छन् ।

त्यस्तै आफूसँग २०७५ साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने लगायतका मागहरु पुरा नभएको र सो सम्झौता पनि तत्काल पुरा गर्नुपर्ने समेत डाक्टर केसीको माग छ ।

उनले १६ औं सत्याग्रह पनि जुम्लामा गरेका थिए । पहिलाको सत्याग्रहका बेला गरिएका सम्झौताहरु अहिलेसम्म पनि सरकारले कार्यान्वयन नगरेकाले आफु फेरि अनशन बस्न बाध्य भएको उनले बताएका छन् ।