साँघुरो संरचनाका कारण आईसीपीको कामकाज प्रभावित

३० भाद्र २०७७, मंगलवार

विराटनगर, भदौ ३०

एकअर्ब ९० करोड रुपैयाँको भारतीय लगानीमा मोरङको विराटनगरमा निर्मित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) मा साँघुरो संरचनाका कारण कामकाज प्रभावित भएको छ ।

गोदाममा पानी चुहिने र यार्डमा समेत मालवाहक कन्टेनर राख्ने ठाउँ नहुँदा भन्सार जाँचपास प्रभावित भएको विराटनगर भन्सार कार्यालयकी सूचना अधिकारी सुनिता पौडेलले बताइन् ।

 

उनका अनुसार न्यूनतम दुई सय कन्टेनर अट्ने आयात यार्ड आवश्यक रहेकोमा हाल ७० कन्टेनर मात्र राख्न सकिने आयात यार्ड उपलब्ध छ।

यसैगरी, न्यूनतम एक सय कन्टेनर सामान भण्डारण गर्ने गोदाम आवश्यक रहेकोमा हाल ४० कन्टेनर सामान मात्र भण्डारण गर्न सकिने गोदाम उपलब्ध रहेको छ ।

यस्तै, निर्याततर्फ ३० कन्टेनर सामान भण्डारण गर्न सकिने गोदाम आवश्यक रहेकोमा २० कन्टेनर मात्र सामान भण्डारण गर्नसकिने गोदाम उपलब्ध रहेको छ ।

गोदाम सानो हुँदा काममा समस्या भएको भन्दै विराटनगर भन्सार एजेन्ट संघले गुनासो गरिरहेको छ ।

आईसीपी सञ्चालक संस्था ट्रान्स नेपाल फ्रेट सर्भिसेजका अध्यक्ष गणेश घिमिरेले यार्ड सानो हुँदा भन्सार जाँचपास ढिलो हुने गरेको बताए ।।।