देवघाटमा शालिग्राम संकलन थालियाे, सङ्ग्रहालय बनाउने तयारी

३० भाद्र २०७७, मंगलवार
प्रसिद्ध तीर्थस्थल देवघाट । तस्वीर साभार

तनहुँ । भदाै ३०

प्रसिद्ध धार्मिक तीर्थस्थल देवघाटमा शालिग्राम सङ्ग्रहालयमा राख्नका लागि शालिग्रामको सङ्कलन र संरक्षण सुरु गरिएको छ । छिटै निर्माण गरिने शालिग्राम सङ्ग्रहालय (सिसमहल) मा राख्नका लागि देवघाट क्षेत्र विकास समितिले शालिग्रामको सङ्कलन र संरक्षण सुरु गरेको हो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले भने, ‘हिन्दूले शालिग्रामको दर्शन र अवलोकन गर्न सकून् भन्ने उद्देश्यले सङ्ग्रहालय बनाउन लागिएको हो । कालीगण्डकी नदीमा मात्र पाइने तथा हिन्दू धर्मावलम्बीले पवित्र मान्ने शालिग्रामको संरक्षणका लागि समितिबाट पहल शुरु गरेका छौं । दामोदर कुण्डबाट मुक्तिनाथ हुँदै देवघाट क्षेत्रसम्मको तटीय क्षेत्रमा पाइने यो महत्त्वपूर्ण सम्पदा शालिग्रामको भइरहेको व्यापार रोक्न यो संरक्षणको अभियान थालनी गरेका हौं ।’

शालिग्राम संरक्षणले धार्मिक पर्यटन प्रवर्धन हुने र शालिग्राम दर्शन गर्न देवघाटधाम जानुपर्छ भन्ने सन्देश दिन लागिएको अध्यक्ष पौडेलले बताएका छन् । उनका अनुसार सङ्ग्रहालय निर्माणका लागि एक वर्षभित्रै काम शुरु गरिने र अहिले विस्तृत आयोजना प्रतिवेदन तयार गर्न लागिएको छ ।

तस्वीर साभार

पर्यटन विभागबाट देवघाट क्षेत्रको विकासका लागि चालू आर्थिक वर्षमा रु ५० करोड बराबरको योजना परेको र त्यसका लागि केही समयभित्र प्राविधिक आउने तयारी गरेका छन् । देवघाटमा अवस्थित मणिमुकुन्देश्वरी मन्दिर क्षेत्रमा रहेको पार्क वरिपरि नै सिसमहलको पनि डिपिआर अध्ययन गरिने पौडेलले बताए । ‘सङ्ग्रहालय बनाउने कि मन्दिरको रुपमा लैजाने भन्ने विषयमा छलफलकै क्रममा छौँ, पूजा गर्न मिल्ने र दर्शन गर्न मिल्ने हिसाबले लैजानुपर्छ भन्ने पनि धेरै जनाको मत छ’, उनले भने । धार्मिक महत्व रहेको शालिग्राम मुक्तिनाथदेखि बगेर आउने कालीगण्डकीमा शालिग्राम प्रशस्त मात्रामा पाइन्छ ।

‘शालिग्रामको नित्य पूजा गर्नाले करोडौँ यज्ञको फल मिल्छ । भिन्नभिन्न चक्र र आकृति अनुसार भगवान्का भिन्नभिन्न अवतार र स्वरुप शालिग्राममा मान्न सकिन्छ भनी पुराणमा लेखिएको छ’ क्षेत्र विकास समितिले प्रकाशित गरेको देवघाट दर्पणमा कमलाकान्त सुवेदीले लेखेका छन् ।

पुराणमा उल्लेख गरिए बमोजिम शालिग्रामको पूजा गर्दा मन्त्र उपचार सामग्री कम भए पनि पूजा अपूर्ण नहुने, शालिग्राममा आकृति अनुसार जुनसुकै देवताको पूजा गर्न सकिने, शालिग्रामका समीपमा श्राद्ध गर्दा पितृलाई अक्षय तृतीय मिल्ने, शालिग्रामको जलसँग छोइएपछि खान नमिल्ने अरु देवताको नैवेद्य पनि खान योग्य हुने उल्लेख गरिएको छ ।