बलात्कारकाे झुठाे मुद्दा लगाउने युवतीलाई १ महिना कैद

३१ भाद्र २०७७, बुधबार
सांकेतिक तस्वीर

विराटनगर । भदौ ३१

सुर्खेत जिल्लामा एउटी युवतीलाई आफूमाथि बलात्कार भएको भनी आरोप लगाएको झुठो ठहर गर्दै एक महिना कैद सजायको फैसला गरेको छ।

अदालतले भदौ १४ गते गरेको फैसलामा ती युवतीलाई एक महिना कैद र १ हजार ५ सय रुपैयाँ जरिवाना तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् ।

उनका अनुसार अहिले युवती भने फरार छिन्। कैद फैसला भएपछि ती युवती सम्पर्कमा नआएको उनले बताएका हुन् । युवतीको कैद भुक्तान र जरिवाना असुलीका लागि जिल्ला प्रहरी कार्यालयलाई पक्राउ गर्न पत्र पठाउन थालिएको बाँस्कोटाले बताए।

कैद फैसला भएकी सुर्खेतकै बराहताल गाउँपालिकाकी १८ वर्षकी युवती छिन्। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड सुर्खेत शाखाका प्रमुख रामप्रसाद गुप्ताले आफूलाई बलात्कार गरेको भन्दै ती युवतीले उजुरी दिएकी थिइन्।

जागिर लगाइदिने प्रलोभन देखाएर गुप्ताले आफूमाथि २०७६ असोज २८ र ३० गते आफ्नो निवासमा बोलाएर बलात्कार गरेको भन्दै ती युवतीले २०७६ मंसिरमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएकोमा प्रहरीले अनुसन्धान गरेको थियो।

जागिर लगाइदिने भनेर प्रमुख गुप्ताले यौनशोषण गरेको बकपत्रमा उल्लेख गरेकी थिइन् तर उक्त बकपत्र झूटो भएको ठहर गर्दै अदालतले फैसला गरेको बाँस्कोटाले संचारकर्मीलाई बताए ।

सुर्खेत अदालतका अनुसार पीडित भनिएकी युवतीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा २, खण्ड (क) अनुसार फैसला भएको हो।

दफा ४४ (२) मा ‘सबुत प्रमाण वा उजुरीका आधारमा अनुसन्धान भई अदालतमा मुद्दा चलिसकेपछि त्यस्तो कुरा वा सबुत वा प्रमाण झूटा वा बनावटी देखिएमा अदालतले सोही मिसिलबाट प्रमाण बुझी आफ्नो कारबाही अगाडि बढाउन सक्ने’ उल्लेख छ।

त्यस्तै उपदफा २ को खण्ड (क) मा झूटो कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने, तर त्यसरी सजाय गर्दा कसूरदारलाई हुने सजायको आधाभन्दा बढी कैद वा जरिवाना गर्न नसकिने उल्लेख छ।

बलात्कारका घटना बढिरहेका बेला कोही कसैलाई फसाउने नियतले झुठा मुद्दा दायर हुन थालेको छ। कसैलाई बलात्कार गर्नु र नगरिएको बलात्कारको झुठो उजुरबाजुर गरी मानमर्दन गर्नु दुवै जघन्य अधिकार मानिन्छ। सो क्रम अहिले बढेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गर्न थालेका छन्।

https://youtu.be/wBbPpCg4KSM