प्रधानमन्त्रीको निर्वाचन क्षेत्र झापा ५ अब फुसको छानो मुक्त हुने

३१ भाद्र २०७७, बुधबार
प्रतिनिधिमूलक तस्वीर- साभार।

विराटनगर । भदाै ३१

विपन्न नागरिकका लागि सरकारले खरको छानो हटाउँदै जस्ता पाताको छानो लगाइदिन सुरू गरेसँगै झापा क्षेत्र नम्बर ५ मा पर्ने चार पालिकामा फुसको छानोमा अब कोहि बस्नुपर्ने छैन ।

विपन्न नागरिकलाई लक्षित गर्दै नागरिक सुरक्षा आवास कार्यक्रम, जनता आवास कार्यक्रम र विपन्न आवास कार्यक्रम सञ्चालनका लागि सरकारले एक अर्ब ३६ करोड ५० लाख बजेट विपन्न नागरिकको घर निर्माणका लागि विनियोजन गरिसकेको छ ।

कार्यक्रम अन्तर्गत दुई हजार ७३० परिवारका लागि यो वर्ष खरको छानो परिवर्तन गरेर जस्तापाता लगाइने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालय सदस्य होमबहादुर थापाले जनाएका छन् ।

झापा क्षेत्र नम्बर ५ प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रभित्र पर्ने दमक नगरपालिकामा ६१६, गौरादह नगरपालिकामा ६६३, कमल गाउँपालिकामा ८३० र गौरीगञ्ज गाउँपालिकामा ६२७ विपन्न परिवारको फुसको छानो फेरेर जस्तापाता लगाउनका लागि प्रत्येक घरलाई रु ५० हजार उपलब्ध गराइने भएको छ।

त्यस्तै घर नभएका विपन्न नागरिकका लागि घर बनाएर दिने कार्यक्रम अन्तरगत ‘जनता आवास कार्यक्रम’ मार्फत् १२० वटा घर निर्माण गरिने भएको छ। एक घर निर्माणका लागि तीन लाख ५० हजार प्रदान गरिने र बाँकी अपुग रकम स्थानीय तह र सम्बन्धित घरधनीको जनश्रमदान रहने थापाले बताएका छन्।

दमक र गौरादह नगरपालिकामा ३२/३२ वटा र गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा २८/२८ वटा घर निर्माण हुने भएका छन् । यसका लागि लागि र ४२ करोड खर्च हुने बताइएको छ। त्यस्तै सांसद पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत दमकमा १५ र गौरीगञ्जमा १३ वटा नमूना घर निर्माण हुने भएका छन्।