संक्रमण नियन्त्रण नहुँदै उपत्यकामा निषेधाज्ञा खुकुलो

१ आश्विन २०७७, बिहीबार

विराटनगर, असोज १

लामो समयदेखि काठमांडौ उपत्यकामा जारी निषेधाज्ञा आजबाट थप खुकुलो बनाइएको छ ।

अब निषेध गरिएका गतिविधिको सूचीलाई ५ बुँदामा झारिएको छ । तर जनप्रतिनिधि र विज्ञहरुले भने प्रशासनको खुकुलो नीतिप्रति चिन्ता प्रकट गरेका छन् ।

अब उपत्यका बाहिरबाट आउनेहरु सवारी साधनमा जोर-बिजोर लागू नहुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।

यता, संघीय सरकारले सोमबारको मन्त्रिपरिषद बैठकको निर्णयबाटै उपत्यकामा अत्यावश्यक सेवा, कार्यालय, आवत-जावत र ढुवानी सेवा बाहेकका सवारी साधनमा जोर-बिजोर लागू गरेको छ ।

गृह मन्त्रायलका प्रवक्ता चक्रबहादुर बुढाले सार्वजनिक यातायात चलेपछि पीसीआर जाँच गरिराख्न सम्भव नहुने बताएका छन् ।

संघीय सरकारले धार्मिकस्थलहरुमा भिडभाड गर्न, सभा, गोष्ठीहरु गर्न र शैक्षिक संस्थाहरु खोल्न रोक लगाएको छ । साथै मनोरञ्जनस्थल, सैलुन, व्यटीपार्लरहरु नचलाउन, खेल गतिविधि नगर्न, पुस्तकालय एवं संग्रहालयलगायत सञ्चालन नगर्न भनेको छ ।

संघीय सरकारको निर्णयअनुसार आज असोज १ बाट अन्तरजिल्ला तथा लामो दुरीका यातायात सञ्चालन हुनेछन् भने अन्तरिक हवाई उडान पनि सुचारु हुनेछन् । यसले गर्दा देशभरका मानिसहरु उपत्यका आइपुग्नेछन् । तर, यसरी काठमाडौं आउनेहरुलाई पीसीआर टेष्ट वा क्वारेन्टिन अनिवार्य हुनेछैन ।

उपत्यकामा संक्रमण बढिरहेका बेला सबै खुला गरेको भन्दै स्थानीय सरकारहरुले भने असन्तुष्टि जनाएका छन् । उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संघीय सरकारले अब सकिन्न भनेर हात जोडे जस्तै गरेको बताएका छन् ।

यसअघि पनि आफूहरुले नाकामा कडाइ गरौं भन्न सुनुवाइ नभएको र ७ साउनबाट सबै खुला गर्दा समुदाय स्तरमा संक्रमण पुगेको मेयर महर्जनको विश्लेषण छ ।

अहिले पनि मापदण्डहरु बनाएर व्यवस्थित गर्दै जानुपर्नेमा सबै खुला गरेको भन्दै महर्जनले असन्तुष्टि व्यक्त गरे ।

जनस्वास्थ्य विज्ञहरु पनि सार्वजनिक यातायात, बजार सबै खुला गर्दा संक्रमण बढ्ने बताउँछन् । अर्थतन्त्र चलायमान बनाउनुपर्ने, नजिकिँदो दशैं लगायतका चाडपर्व एवं उद्योगी व्यवसायी सबैको दबावमा परेर सरकारले यो निर्णय गरेको हुनसक्ने उनीहरुको विश्लेषण छ ।

जनस्वास्थ्य विज्ञ डाक्टर शरद वन्तले जनस्वास्थ्यको मापदण्ड पालना गर्ने उपयुक्त समय आएको बताए । ‘लकडाउन खुकुलो बनाउनु आवश्यक थियो, खुकुलो भयो’ उनले भने, ‘अब हामी पहिलेभन्दा सचेत हुनुपर्छ । वास्तविक सामाजिक दुरी कायम गर्ने समय आयो । किनकि, पहिलाभन्दा अहिले मानिसको चहल-पहल बढ्छ ।’

सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले पहिलाभन्दा बढी सचेत हुनुपर्ने बताउँछन् । उनका अनुसार पछिल्ला दिनहरुमा संक्रमण फैलिएको ठाउँका साथै भारतबाट समेत मानिसहरु आएका छन्, उनीहरुको पीसीआर टेष्ट पनि भएको छैन ।