भात खान नपाएको भन्दै गर्भवती महिलाद्वारा आत्महत्या

१ आश्विन २०७७, बिहीबार
सांकेतिक तस्वीर

विराटनगर । असाेज १

बर्दियाको गुलरिया नगरपालिका-३,खैरीकी २३ वर्षीया निलम गोडियाले आत्महत्या गरेकी छन् ।
गत भदौ १६ गते भात खान नपाएकाले पाँच महिनाकी गर्भवति रहेकी उनले आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको उनका पति ओमकार गोडियाले बताए ।

गरिबीका कारण रोटी खाएर छाक टार्दै आएको परिवारमा चामल कम भएकाले सासु लक्ष्मीले भात पकाउने अनुमति नदिएकोमा बुहारीले माइतबाट एक किलो चामल सापटी लिएर पकाउन खोज्दा एक किलोभन्दा बढी चामल पकाउन लागेको भन्दै सासुले पुन: विवाद गरेपछि आफ्ना बाबु रमेशसँग मागेर सासुलाई चामल फिर्ता गरेकी थिइन् ।

त्यसपछि रोटी नपकाई मकै भुटेर सबैलाई दिई आफू कोठाभित्र पसेर आत्महत्या गरेको पति ओमकारको भनाइ छ ।
सासु लक्ष्मीले भने त्यस दिन आफू घरमा नरहेको भन्दै आरोप अस्वीकार गरेकी छन् ।

वडाध्यक्ष राजकुमार यादवले घटनाबारे जानकारी नभएको भन्दै जानकारी भए सहयोग गर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक शुशील थापाले पोस्टमार्टमपछि आत्महत्या गरेको देखिएकोमा घटनाको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिए ।