दूरसञ्चारले सामाजिक सञ्जालकाे नियमनका लागि सुरु गर्याे तयारी

१ आश्विन २०७७, बिहीबार

विराटनगर । असाेज १

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक, गुगल, युट्युव, फेसबुक, अकमाइ लगायतका कन्टेन्ट प्रोभाइडरलाई नियमनभित्र ल्याउन आन्तरिक तयारी थालेको छ ।

पछिल्लो समय इन्टरनेट सेवा प्रदायकले कन्टेन्ट प्रोभाइडरबाट समस्या भोगिरहेको गुनासो बढ्न थालेपछि दूरसञ्चार प्राधिकरणले यस्तो तयारी थालेको हो ।

टिकटकले आफ्नो प्राटोकल परिवर्तन गर्ने समय र भारतले टिकटकमा लगाएको प्रतिबन्धको असर नेपालमा देखिएपछि टिकटकले मात्रै नेपालको कुल ब्याण्डविथको २५ प्रतिशत ब्याण्डविथ खपत गरेको थियो ।

त्यसबेला सेवा प्रदायकले टिकटकको सर्भर थप गर्न नसक्दा नेपालको इन्टरनेटमै समस्या परेको थियो । यसबारेमा सेवा प्रदायक संस्थाले प्राधिकरणमा पनि जानकारी दिएका थिए । हाल टिकटकको लागि आकमाईको सर्भर थप भएसँगै टिकटकको समस्या भने समाधान भएको छ ।

यस्तै अहिले गुगलको अधिकतम प्रयाेग भइरहँदा गुगलकाे क्यास सर्भरको खपत पनि बढेकाे छ, तर सर्भर बढाउनेतर्फ कुनै काम भने अघि बढेकाे छैन ।

सेवा प्रदायक कम्पनीले यसरी विभिन्न समयमा विभिन्न कन्टेन्ट प्रोभाइडरबाट समस्या भोगिररहेको कुरा सार्वजनिक रुपमै बोल्दै आएपछि यसको समाधान के गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न प्राधिकरण अघि बढेको हो । यो विषयमा वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले कम्पनीको वार्षिकाेत्सवको अवसरमा आयोजित कार्यक्रम मा नै जानकारी दिएका थिए । कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनालको पनि उपस्थिति थियो ।

टिकटक लगायतले सेवा प्रदायकमार्फत नेपालमा सेवा दिने, आम्दानी गर्ने तर त्यस बापतको कर नेपाल सरकारले नपाउने खालको अवस्था पनि छ । महालेखाको प्रतिवेदनमा पनि यस्ता सेवा प्रदायकलाई नियमन गर्नुपर्ने विषय लामो समयदेखि उठ्दै आएकाले यो तयारी अघि बढाइएको प्राधिकरणले जनाएको छ ।