प्याजकाे कालाेबजारी गर्ने तीन जना सिराहाबाट पक्राउ, करीब ८ क्वीन्टेल प्याज बरामद

१ आश्विन २०७७, बिहीबार
प्रतिनिधिमूलक तस्वीर

विराटनगर । असाेज १

सिरहा जिल्ला अन्तर्गत गोलबजार, मिर्चैया र लहान बजारका विभिन्न पसल तथा गोदामबाट प्याज कालोबजारी भइरहेको सूचनाका आधारमा इलाका प्रशासन कार्यालय लहान सिरहा, जिल्ला प्रहरी कार्यालय सिरहा, उद्योग व्यापार सङ्घका प्रतिनिधि, स्थानीय जनप्रतिनिधिसहितको अनुगमन टोलीले विक्री वितरणका लागि राखिएको साढे सात हजार किलो प्याजसहित पसल सञ्चालकहरुलाई पक्राउ गरेको छ ।

उक्त टाेलीले प्याजमा कालोबजारी गरेको आरोपमा गोलबजार नगरपालिका–४ स्थित जयलक्ष्मी सब्जी भण्डारका सञ्चालक मिर्चैया नगरपालिका–५ निवासी ४४ वर्षीय उमेशप्रसाद साह, मिर्चैया नगरपालिका–५ स्थित जयमाता दी सब्जी भण्डारका सञ्चालक विनोदकुमार साह र लहान नगरपालिका–३ स्थित गङ्गा ट्रेडर्सका सञ्चालक रामनारायण नायकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

कालाेबजारीबारे थप अनुसन्धान भइरहेबकाे प्रहरीले जनाएकाे छ ।