नटवरलाल – एक नामुद ठग

१ आश्विन २०७७, बिहीबार

विराटनगर । असाेज १

‘नटवरलाल’
कुनै रंगमञ्चमा अभिनय गर्ने नायक वा सहायक पात्रको जस्तो नाम ।

तर यो नाम कुनै अभिनायकको नभएर एक नामुद ठगलाई राखिएको नाम हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा एकजना लामो कपाल पालेका थुुनुवा अनुपकुमार सिंहको नै अपराध अनुसन्धान अधिकृतहरूले राखेको नाम हो- नटवरलाल ।

२०५७ सालदेखि प्रहरी हिरासतमा बस्ने र निस्कने उनी कहलिएका ठग हुन् । काठमाडौं उपत्यकामा ठगी धन्दामा सक्रियहरुको बीचमा उनी ‘पुरानो मान्छे’ मध्येको सूचीमा पर्छन् ।

असन घर भएर ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा बस्ने उनलाई गत भदौ २६ मा प्रहरीले गैह्रिधारास्थित होटल स्वर्णिम अगाडिबाट पक्रिएको थियो । ‘बेलायत र अमेरिका पठाइदिन्छु’ भन्दै ठगेको आरोपमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले जनाएका छन् ।
उनले मनोज अधिकारीलाई ‘वैदेशिक रोजगार मा बेलायत पठाउने’ सपना देखाएर साढे १६ लाख लिए । तर, पठाउन नसकेपछि चेक दिए । सो चेक बाउन्स भएको छ । अर्का, रामकृष्ण खत्रीलाई अमेरिका सपना देखाएर ६ लाख ठगेका छन् ।

परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग र वैदेशिक रोजगार विभागको लेटरप्याड र छाप समेत अाफै बनाउने, अनि आफैं बेलायत–अमेरिकाबाट ‘कन्फर्मेशन’ आएको पत्र दिने गरेका उनिबाट ठगिएको पैसा गुमिसकेपछि मात्रै थाहा पाइन्छ ।

‘सरकारी लेटरप्याडमा कन्फर्मेशन लिखत आफैंले तयार गरेको हुनाले हामीले लिखत सम्बन्धी कसुरमा अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं’ प्रहरी उपरिक्षक सोमेन्द्रसिंह राठौरले भने– ‘चेक बाउन्स र सरकारी छाप दस्तखत किर्तेमा पनि मुद्धा चलाउँछौ ।’

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २०६८ सालमा उनलाई नै पुरातात्त्विक सामान, हतियार र बहुमुल्य जङ्गली जनावरका हाडखोर सहित पक्राउ गरेको थियो ।

सिअाईबीमा ‘ललितपुरको एउटा घरमा ठुलो परिमाणमा पुरातात्विक महत्वका सामान र हतियार छ ’ भन्ने सुराक अाएपछि सिअाईबीको टोलीले उनको घरमा छापा मार्दा ईजाजतपत्र भएको हतियार, पुरातात्विक महत्वको सामान, बहुमूल्य जंगली जनावरको ओखेटोपहार भेट्टाएको थियो । उनले त्यतिबेला एउटा हतियार इनारमा फालेका थिए जुन इजाजत बिना राखेका थिए ।

उमेरले ४६ पुगेका उनलाई २०५७ सालमा सार्वजनिक अपराध मुद्धामा पक्रेको थियो ।
२०६४ वैशाख २८ मा फेरि उनलाई काठमाडौं प्रहरीले नै सार्वजनिक अपराध मुद्धा चलाएको थियो । अर्कोपटक २०६९ भदौ १२ मा ठगी मुद्धामा पक्राउ परेका अनुप असोज ११ मा पुर्पक्षको लागी सुन्धारास्थित केन्द्रीय कारागारमा थुनिए । फेरि २०७० असोज १३ मा उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्रियो । ०७३ मंसिर ९ मा महानगरीय प्रहरी परिसर ललितपुरले उनलाई फेरि ठगी आरोपमा पक्रेर मुद्धा चलाएको थियो ।

यसपटकचाहि उनी विरुद्ध परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो । परराष्ट्र मन्त्रालयको लेटरप्याड र छाप लगाएर उनले वैदेशिक रोजगारीका लागि बेलायत–अमेरिकामा जान भन्दै विभिन्न पदमा छनोट भएको पत्र दिएका थिए । सो पत्रको आधारमा मन्त्रालयले ‘अनुपकुमारलाई पक्रेर अनुसन्धान गर्न’ भन्दै पत्र लेखेको थियो ।