विराटनगर अब स्थायी रूपमै राजधानी हुने, प्रदेश सभाकाे भवन शिलान्यास

१ आश्विन २०७७, बिहीबार
तस्वीर- अनलाइनखबर

विराटनगर । असोज १

१ नंबर प्रदेशको प्रदेशसभामा बृहत् विराट क्षेत्रलाई राजधानी घोषणा गर्दै विराटनगर, विराटचोक, इटहरी, इनरुवासहितका क्षेत्रलाई बृहत् विराट क्षेत्र भन्ने निर्णय भएको थियो।

प्रदेश सभाको भवन निर्माणका लागि तयारी थालिएपनि ४० जना सांसदले विराटनगर बाहिर हुनुपर्ने बताएका कारण काम रोकिएको थियो। कार्यव्यवस्था परामर्श समितिको बैठकले विराटनगरमै बनाउने निर्णय गरेपछि बिहीबार विराटनगरमै शिलान्यास गरिएको छ।

सो भवन निर्माणका लागि २ करोड ५१ लाख ८१ हजार रुपैयाँमा ठेक्का लागिसकेको छ। भवनको जग कंक्रिट माथिको संरचना भने फेब्रिकेटको हुने बताइएको छ।

असोज १ गते प्रेशका सभामुख प्रदीपकुमार भण्डारीले भवनको शिलान्यास गर्दै प्रदेश सभा कुन ठाउँमा रहन्छ भन्ने विवाद अन्त्य भएको बताएका हुन् । यो नै प्रदेश सरकारले आफ्नो लगानीमा पहिलो पटक भौतिक संरचना हुने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए।

आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार प्रदेश सरकारले विस्तारै सबै भौतिक संरचना निर्माण गरिने जिकिर गरे । राजधानी विराटनगरबाट अन्यत्र सार्ने अनेक कसरत भएको र सार्न नहुने बरु जस्तो सुकै सहयोग गर्न तयार छौं भन्नेहरूले अहिले सहयोग नगरेको बताएका छन्।

विराटनगर अब स्थायी रूपमै राजधानी तोकिइसकेको छ। तर सहयोग गर्छौं भन्ने सरोकारवालाहरू अहिले सहयोग गर्नेबेला हराइरहेको आङ्बोले गुनासो गरे।

मन्त्री आङ्बोले कार्यक्रममा बोल्ने क्रममा विराटनगर महानगरपालिकाले नै असहयोग गरेको आशय व्यक्त गरेका छन् । उनले सपथग्रहण पछि लगभग मन्त्रीहरू १५ दिन जति होटलमा बस्नुपरेको उल्लेख गर्दै सरोकारवालाहरूले कतै बस्न सहयोग नगरेको बताए।

सरकारी गाडी र विभिन्न प्रयोजनका लागि भवन अभाव भएपनि कतैबाट सहयोग नपुगेको आङ्बोको भनाइ छ। विराटनगर महानगरपालिकाले पचास विघा जमीन उपलब्ध गराउने बताएपनि ५० पाइला पनि जमीन नदिएको आक्रोश व्यक्त गरेका छन्।