नेपालको रेल जयनगर आइपुग्यो, जनकपुर भोली नै आइपुग्ने

१ आश्विन २०७७, बिहीबार

राटनगर ।

नेपालको रेलवे विभागले करिब ८५ करोडमा भारतसँग खरिद गरेको रेलको दुई सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ ।एउटा इन्जिन र चारवटा बोगी भएका दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्‍ने रेलवे विभागले जानकारी दिएको छ ।

नेपालमा रहेका रेलवे विभागका अधिकारीहरूका अनुसार विहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन जनकपुरका लागि बाटो लागिसकेको छ।

रेल आउने बताइएपछि रेलवे विभागका कर्मचारी पनि काठमाडौंबाट जनकपुरतिर लागिसकेको रेलवे विभागले जनाएको छ। दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाखमै खरिद सम्झौता भएको थियो।

शुक्रबार भारबाट आएका रेल मात्रै बुझ्ने कार्यक्रम रहेको पनि विभागले जनाएको छ।

परीक्षणका लागि शुक्रबार जनकपुर आएर फर्किने रेल कहिलेदेखि नियमित सञ्चालन गर्ने भन्ने मिति पनि टुंगो भएको छैन । एक महिनाभित्रै चलाउन सकिने गरी काम भइरहेको जानकारी प्राप्त भएको छ।

शुक्रबार नेपाल भित्रिने रेल हाल जयनगर–जनकपुर र कुर्था रुटमै सञ्चालन हुने र कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किमि दूरीमा भने रेलवेको लिंक ओछ्याउने काम पनि जारी छ ।

रेलवे विभागले रेल सञ्चालनका लागि यसै साता प्राविधिकसहित १२९ जना कर्मचारी भर्नाको विज्ञापन प्रकाशन गरिसकेको छ।