कोरोना कालमा अक्सिजन अभावले भारतमा संकट

२ आश्विन २०७७, शुक्रबार

एजेन्सी, असोज २

 

बढ्दो कोरोना संक्रमणका कारण भारतमा उपचारका लागि अक्सिजनको अभाव हुन थालेको छ ।

सामान्य अवस्थामा अस्पतालहरुमा प्रतिदिन सात सय ५० टन खपत हुने गरेको अक्सिजन हाल दैनिक दुई हजार सात सय टन खपत भइरहेको अल इन्डिया इन्डष्ट्रियल ग्यासेस म्यानुफ्याक्चर्स एसोसिएसनले जनाएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले अक्सिजन अभाव हुन नदिन अक्सिजनको निकासी नरोक्न अक्सिजन उत्पादन गर्ने राज्यहरुलाई पत्राचार गरेको छ । गत सात सेप्टेम्बरमा महाराष्ट्र सरकारले निकासी रोकेकोमा सरकारले कडा निर्देशन जारी गरेको हो ।

भारतको महाराष्ट्र, गुजरात, उत्तर प्रदेश, पश्चिम बंगालजस्ता जनघनत्व बढी भएका राज्यमा कोरोना संक्रमणका कारण अक्सिजन सिलिन्डरको माग अस्वभाविक रुपमा बढेको छ।

माग बढेसँगै विभिन्न राज्यहरुमा अक्सिजन सिलिन्डरको मूल्य वृद्धि भएको छ । उत्तर प्रदेशमा पाँच हजार पर्ने सिलिन्डरको मूल्य १० हजार पर्न थालेको छ ।

 

कोभिड-१९ का केही बिरामीलाई स्वासप्रस्वासका लागि अक्सिजनको आवश्यकता पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।।।