नक्कली नोट दिएर सुन लिएर फरार

२ आश्विन २०७७, शुक्रबार

ललितपुरको ताल्छिखेलस्थित जय माँ दुर्गा ज्वेलर्सबाट बिहिबार दिउसो प्रहरीले चार लाख ६५ हजार नक्कली रुपैया बरामद गरेको छ ।पसलमा आएका ग्राहकले नक्कली पैसा दिएर फरार भएपछि पसल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

बिहीबार बिहान साढे १० बजे सो पसलमा दुई पुरूष ज्वेलर्समा सुन किन्ने भन्दै प्रवेश गरेका उनीहरूले पसल सञ्चालकलाई करिब पाँच लाख बराबरको सामान देखाउन भनेका थिए र सुन हेरेको केहीबेरमै किन्न तम्सिएका उनीहरूले बिल नै नबुझी पैसा छाडेर भागेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक प्रज्जवल महर्जनले जानकारी दिए।

बिहान १० बजेर ५५ मिनेट जाँदा नै पैसा पसलबाट उनीहरूले पाँच तोला सुनको तिलौरी र औंठी लिएर चार लाख ७० हजार रुपैयाँ पसलमा छाडेर गएको एसपी महर्जनले बताए ।

पसलेले पैसा गन्दा उनले माथि माथिको पैसा सक्कली र तलतिरको पैसा सबै नक्कली पाएपछि दिउँसो १२ बजे प्रहरीलाई खबर गरेका थिए। पैसाको बन्डलबाट प्रहरीले पाँच हजार मात्रै सक्कली पैसा पाएको हो।

‘सिसिटिभी फुटेज लगायत सबै विधी अपनाएर खोजी गरिरहेका छौं,’ महर्जनले भने,’अहिलेसम्म उनीहरूलाई हामीले फेला परेका छैनौ।’