सप्तरीमा सामूहिक बलात्कारका दुई अभियुक्त पक्राउ,दुई फरार

२ आश्विन २०७७, शुक्रबार
सांकेतिक तस्वीर

विराटनगर, असोज २

सप्तरीको डाकनेश्वरी नगरपालिका-७ ललितपुरकी एक किशोरीलाई गत भदौ २९ गते सामूहिक बलात्कार गर्ने चारमध्ये दुई अभियुक्त पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुमनकुमार मण्डल र रञ्जित मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

उनका अनुसार दुवै अभियुक्तलाई बिहीबार राति भारतीय प्रहरीको सहयोगमा नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएकोमा अन्य दुई आरोपी विष्णु मण्डल र धर्म मण्डल हालसम्म पनि फरार रहेका छन् ।

गाउँमा बसेको पञ्चायतको भेलाले प्रहरीमा उजुरी नगर्न दबाब दिएका कारण किशोरीले आत्महत्या गरेपछि पञ्चायत भेलामा सहभागी पञ्चहरू सत्यनारायण मण्डल, जयकान्त मण्डल र बासुदेव मण्डलसमेत पक्राउ परेको र अन्य पञ्चहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि आर्थिक लेनदेनमा घटना सामसुम पार्न खोजेको आरोप छ।।।