हाम्रै माटो सुहाउँदो गजल लेखौँ !

२ आश्विन २०७७, शुक्रबार

हाँगामा आई बस्यो चरी हा कसरी भन्नू ?

बाँस बसेका लाइ निस्केर जा कसरी भन्नु ?

एउटा साथी सोध्छ, प्रेम गरु कि नगरूँ 

यो बिष हो जानी जानी खा कसरी भन्नू ?

पिता टीकाप्रसाद अधिकारी तथा माता बिमला अधिकारीकाे काेखबाट  वि. सं. २०३१-१२-२९ मा रामधुनी २ कालिझोडामा जन्मिनुभएका रोमु अधिकारी कुशल गीतकार तथा गजलकार हुनुहुन्छ ।  हाल रामधुनीकै झुम्कामा बसाेबास गर्नुहुने अधिकारी पेशाले टेक्निसियन हुनुहुन्छ ।  अहिलेसम्म वहाँका शब्दमा ६ वटा गीत रेकर्ड भइसकेका छन् । केहीअघि चलेकाे नेपाली चलचित्र ब्याड ब्याइमा अधिकारीकाे शब्दमा नेपाली तारा दीपक लिम्बूले आवाज दिएका छन् । 

छडके त्यो नजर को हेराइ नै मीठो
त्यही हेराइले मार बरु मरण झनै मीठो !!
उल्लेखित गीतले अधिकारीलाई प्रखर गीतकारकाे रूपमा चिनायाे । फुटकर कविता, मुक्तक तथा गजल सबै विधामा अब्बल मानिएका अधिकारी पूर्वी नेपालका सुपरिचित नाम हुनुन्छ । हालसम्म कुनै कृति प्रकाशन नगरेर पनि चर्चामा रहनुभएका अधिकारीसँग हाम्राे विराटनगरकाे साप्तहिक श्रृङ्खला स्रष्टा र साहित्यकाे बसाइमा भलाकुसारीका लागि निमन्त्रण गरिएकाे छ ।
हाम्राे विराटनगरका संपादक अभिमन्यु अभिजितले वहाँसँग गर्नुभएकाे शुक्रबार-संवादकाे संपादित अंश –

१. रोमु अधिकारी भन्ने बित्तिकै धेरैले गजलकार र गीतकार भनेर चिन्छन्। आफूलाई कसरी चिनाउनु हुन्छ?
हजुर ! म जहाँ जाँदा पनि चिनाउने गीतकार तथा गजलकार भनेर नै हाे । अहिलेसम्म ६ वटा रेकर्ड भए भने लेखिएका १०० भन्दा बढी छन् ! अब गजल ३०० भन्दा बढी भए होलान् । म आफूला गितकार तथा गजलकार भनेरै चिनाउन चाहन्छु ! किनकि दुबै बिधा मेरालागि दुई आँखा हुन, दुबैमा बराबर रुची छ उत्तिकै लेख्न पनि जागर लाग्छ  !
२. यो लकडाउन कसरी बिताइरहनु भएको छ?
–  घरमै प्राय पुस्तकहरू अध्ययन गर्छु, साहित्य सिर्जना गर्ने गर्छु ! र लाइभ प्रोग्रामहरूमा सहभागिता जनाउछु ।अधिकांश समय अध्ययन र साहित्यिक छलफल तथा सामाजिक सञ्जालमार्फत  स्रष्टाहरूसँग कुराकानीमा बितेको छ ।
३. कुशल गीतकारकाे रूपमा छवि बनाइसक्नु भएकाे छ । माया प्रेमका गीत गजल बढी लेख्नुन्छ । तर माया प्रेमका बिषय बढी लेखिनुमा केही संयाेग पनि छ कि?
यस्तो हो ! आफूले देखेका, सुनेका, पढेका र भोगेका कुराहरूलाइ नै शब्दमा उनेर मीठो रूपमा प्रस्तुत गर्ने कला हो साहित्य ।  कसैले प्रकृतिमा लेख्छ्न् कसैले प्रवृत्ति मा … । म मानवकाे प्रवृत्तिमा लेख्ने गर्छु बढीजसो र सबैको आआफ्ना धार हुन्छन् । कसैले माया प्रेम, कसैले वियोग, कसैले जीवनजगत् त कसैले जीवन दर्शन, वैचारिक गहन र कसैले राजनीतिमा त काेही समाजका विकृति र विसङ्गतिमाथि प्रहार गर्लान् ….! यी धारमध्ये म चाहिँ माया प्रेम र वियाेग नै बढी लेख्छु र प्रेममा घात गर्नेहरूप्रति अलि बढी खनिन्छु । मेरो वास्तविक जीवनसँग त्यति यसको प्रभाव भने होइन !
तस्वीर/भिडियाे – राेमु अधिकारी

४. गजलकार तथा गीतकार भनेर चिनिन संग्रहहरूको चाँङ लगाउनेहरू पनि छन्। तपाईंले कृति आजसम्म प्रकाशन गर्नुभएको छैन, तैपनि सबैले रुचाउँछन् नि!

गीत या साहित्यका कुनै पनि विधा हुन् सबैले बुझ्ने, सबैलाई छुने खालका हुनुपर्छ मेरो विचारमा ! पाठक या श्रोताले कहीँ न कहीाँ त्यहाँभित्र आफूलाइ पाउने हुनुपर्छ सिर्जना । त्यसो हुँदा छिटो सबैले रुचाउने हुन्छ ! मैले लेखन यात्रा सुरु गरेको २८/२९ बर्ष भयो तर पनि मलाई लाग्दैन । अझै मेरो सिर्जनाहरूको गीति एल्बम या गजलहरूको सङ्ग्रह निकाल्ने बेला भएको छ । धेरै अध्ययन गर्नुछ अझै साधना गर्नु छ, आफूलाई निखार्नु छ !

५. पुराना पुस्ताका गीत अजर अमर हुन्छन्। झलकमान गन्धर्वका गीत अझै कर्णप्रिय लाग्छ। अहिले चलेका गीत क्षणिक चर्चा बटुलेर सेलाउँछन्। यसो हुनुमा केको प्रभाव जस्तो लाग्छ?

मेरो विचारमा गीत संगीत क्षेत्र व्यवसायिक पनि हुँदै गयो । पहिले गीतमा जीवन लेखिन्थ्यो, मन भित्रको भावना लेखिन्थ्यो । गाउँबेसीका कुरा लेखिन्थ्यो, संगीत कम्पोजमा समय लगाइन्थ्यो । घन्टौँ बसेर गीतकार, संगीतकार र  गायकहरूको सिर्जनात्मक उर्जा प्रयोग गरिन्थ्यो । एउटा विशुद्ध नेपाली गीत जन्मन्थ्यो । अहिले त चल्नु पर्याे, बिक्नु पर्याे । छिटोभन्दा छिटो चर्चा बटुल्नु पर्याे । युटुब र सामजिकसञ्जालमा भाइरल हुनु पर्यो  । भ्यू यति उति गणना हुन्छ र पैसा पनि कमाउनु पर्ने उद्देश्य त्यही राखेर सिर्जना हुन्छ । फलानो फलानाे जस्तो या त्यो चलेको गीतजस्तो सिर्जना गरिदिनु पर्यो भन्छन् चलचित्र निर्माता पनि, मैले पनि भोगेको छु यो समस्या । तर पहिलेका गीतमा बनाउनकै निम्ति गीत बनाइन्थ्यो र गीत बन्थ्यो कर्णप्रिय ..लोकप्रिय । ती सधैँ कालजयी भएर गुन्जीरहेका छन् र गुन्जिरहनेछ्न् अनन्तसम्म !

पहिलेका गीतमा बनाउनकै निम्ति गीत बनाइन्थ्यो र गीत बन्थ्यो कर्णप्रिय ..लोकप्रिय !

६. सिर्जना गर्ने मान्छे युग अनुसार सिर्जनशील भएर बग्नुपर्छ। सबै परिस्थितिलाई निर्क्यौल गरेर सिर्जनामा पोतिइरहन कसरी सक्नुभएको छ?

 हो ! हुन त समयसँगै हरेक कुरामा बदलाव आउँछ र आइरहेको पनि छ । म पनि समयअनुसार नै आफूलाई ढालिरहेको हुन्छु । एउटा सर्कल छ नयाँ पुस्ता जस्को मन मुटुमा बसेर छामेर गीतकार गजलकारले आफूलाई त्यही अनुसार अपडेट पनि गर्नु पनि पर्दोरहेछ । म कहिले किशाेर कहिले युवा र कहिले प्रौढ भइदिन्छु सिर्जना मा !

७. गीत संगीतमा लाग्नेहरूले राम्रै अर्थोपार्जन पनि गरेका छन्। तपाईंको कलम स्वान्त सुखाय कोरिएको छ कि केही आम्दानी पनि गर्नुभएको छ?

यो बहुत गम्भीर प्रश्न हो । लामो समयदेखि साहित्यमा लागेर पनि मैले अहिलेसम्म नढाँटी भन्नुपर्दा जम्मा ३० हजार हात पारेको छु, त्यो पनि गीत लेखे बापत ! बाँकी यसतर्फ मेरो त्यस्तो अरू आर्थिक पाटो सबल छैन । चलेका गीतकार गजलकारहरूकाे राम्रै होला । गीत लेखेर बाँच्न सक्ने अवस्था त थोरै गीतकारहरूको मात्र छ बाँकी सबैको पीडा उस्तै नै हो ।

८. आगामी दिनमा गीत र गजलबारे कस्ता योजना छन्?

गीत र गजलका निमित्त योजना यसो नै गर्छु भन्ने त्यत्रो महत्वाकांक्षी योजना त छैन तर फलको आश नराखी कर्म गर्न छोड्नेछैन । लेख्ने कार्य निरन्तर नै रही रहनेछ । हाम्रो रामधुनी नगरमा एउटा रामधुनी साहित्यिक प्रतिष्ठान हालै गठन गरिएको छ । त्यसैकाे प्रवर्द्धनमा लागिरहनेछु । मेरा लागि गीतमा चाहिँ अवसर पनि हो ।

९. केही अघि ब्याड ब्वाइ चलचित्रमा तपाईंको एउटा गीतले चर्चा पायो। यो गीतको पृष्ठभूमि पाठकलाई बताइदिनु हुन्छ कि? 

छडके त्यो नजर को हेराइ नै मीठो

त्यही हेराइले मार बरु मरण झनै मीठो……यो गीत यसरी बन्यो – मेरा अति मिलनसार मित्र संगीतकार राम कार्की इटहरी हलगडा निवासी हाल काठमाडौमा हुनुन्छ। वहाँले काठमाण्डौँकाे कोटेश्वरमा संगीत विद्यालय नै खोलेर बस्नुभएको थियो । म वहाँकामा बारम्बार आउने जाने गर्थेँ । वहाँलाइ नेपाली चलचित्र ब्याड ब्याइका लागि संगीत भर्ने अफर आएकाे रहेछ । मलाई त्यतिबेला नै एउटा रोमाञ्चक गीत लेख्नुस् रोमुजी भन्नु भयो । निर्माता वरुण अधिकारी पनि आइपुग्नु भयो  । वहाँले हुन्छ लेख्नुस् भनेपछि लेखियाे । सबैले मन पराएपछि दीपक लिम्बूले गाउनुभयाे ।

१०. गीत गजलहरू सैद्धान्तिक र शास्त्रीय हुनुपर्छ भन्नेहरू पनि छन्। यो लेखनी कखरा जस्तो नियममा बाँधिएर लेख्नुपर्छ कि जसरी कोरेपनि हुन्छ? तपाईंबाट आम नयाँ पुस्ताले कि सिकून् जस्तो लाग्छ?

हजुर ! यो विवाद छ गजल बहर मा लेख्ने कि स्वतन्त्र ? साहित्य खुल्ला आकाशको स्वतन्त्र उडान हो । यसमा नियम लगाउन जरुरी देख्दिन म चाहिँ । गजल आयातित विधा हो यो, अरबी, फारसी, उर्दू र हिन्दी हुँदै हामीकहाँ कवि मोतिराम भट्टले भित्र्याउनु भएको हो । त्यसपछि भिमनिधि तिवारी हुँदै गजल अहिले यहाँसम्म आइपुगेको छ । समय अनुसार हरेक कुरामा परिवर्तन आउँछ, यो यथार्थ कुरा पनि हो । गजल बहरमा नै हुनुपर्छ बाँकी गजल गजल नै होइन् भन्ने कुरामा म सहमत छैन ! गजलका केही प्रमुख श्रृंगार छ्न् । तिनीहरूलाइ समातेर गजल मिटरमा लेख्नुभयो भने गजल लय मा पनि आउँछ लयमा गाउन पनि सकिन्छ । वाचन गर्न सजिलो सुन्दा मिठास पनि हुन्छ । यसो भन्दै गर्दा म बहर विराेधी पनि होइन, जसलाई बहरमा लेख्न आउँछ लेख्नुस्  आउदैन स्वतन्त्र भएर लेख्नुस् नयाँ लेख्दै गरेका हरूलाइ बेकारमा द्विविधा नबनाअाैँ हामी । यसरी विवाद निम्त्याउँदा एउटा सर्जक मर्छ उस्को सिर्जना कोपिलामै फुल्न नपाइ अाेइलाउँछ विवाद नगरौँ ।

आफूलाइ बग्न दिनुस् पानी जति बग्यो त्यति सङ्लिन्छ । साधना हो लेखन पनि, सधना गर्नुस् अध्यन गर्नुस् श्रोता, दर्शक र  पाठकलाई छुने लेख्नुस् भन्छु म नयाँ पुस्तालाइ ।  पछिल्लो समयमा के भयो भने गजलमा स्वतन्त्र रुपमा गजल लेख्नेहरूले पाठकको मन छुने चोटिला गजलहरु लेखेर धेरै गजलकारहरु चर्चित हुनुभयो धेरैले वहाँहरुलाइ मन पराइदिनुभयो । त्यसपछि बहर भनेर गजल लेख्ने सर्जकहरुमा एक किसिमको जलन पैदा भयो अनि सुरु भयाे -यो भएन त्यो भएन ! यसको प्रमुख कारण नै यही हो बेकारमा उब्जिएको विवाद हो यो  । हामी नेपाली गजल लेखौ, हाम्रै माटो सुहाउँदो गजल लेखौँ !