विराटनगरमा स्वाब संकलनका लागि मोबाइल भ्यान

३ आश्विन २०७७, शनिबार

विराटनगर, असोज ३

रोटरी क्लब अफ विराटनगरले मोरङको विराटनगर महानगरपालिकालाई हिजो शुक्रबार कोरोना सङ्क्रमितको स्वाब संकलनका लागि मोबाइल भ्यान हस्तान्तरण गरेको छ ।

चार लाख रुपैयाँको लागतमा हुलास मोटर्सले निर्माण गरेको सो भ्यानमा सेन्सर सेनिटाइजर, एसी तथा बाहिरबाट निर्देशन दिन सकिने व्यवस्था छ ।

अटो रिक्साको स्वरुप परिवर्तन गरी बनाइएको सो भ्यानले स्वाब परीक्षणका लागि बाहिर जान नसक्ने अशक्त व्यक्तिलाई मद्दत पुग्ने छ ।

हिजो एक समारोहका बीच रोटरी क्लब अफ विराटनगरका अध्यक्ष डा. बिजु थपलियाले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीलाई सो भ्यानको साँचो हस्तान्तरण गरेका थिए । साँचो बुझेपछि मेयर पराजुलीले भ्यान सञ्चालनमा ल्याउन कर्मचारीलाई निर्देशन दिएका थिए ।।।