कानून र कर्मचारी अभावमा रेल भारतमा थन्काउँदै सरकार

३ आश्विन २०७७, शनिबार

सरकारले हिजो तामझामका साथ नेपाल भित्र्याएको रेल कर्मचारी र कानूनको अभावमा तत्काल सञ्चालन गर्न नसक्ने भन्दै भारतमै थन्क्याएर राख्ने भएको छ।

दुई सय २६ जना कर्मचारीको दरबन्दी रहेकोमा हालसम्म कर्मचारी नियुक्त गर्न नसकेको रेल विभागले एक सय तीस जना कर्मचारी भर्ना गर्न गत भदौ २९ गते विज्ञापन खुलाएको छ । २६ प्राविधिक कर्मचारी भारतबाट ल्याइने रेल विभागले जनाएको छ।

गत पुसमा संसदमा पेस भएको रेलवे विधेयक पारित नहुँदै संसद बन्द हुँदा कानूनको अभाव भएकोमा रेलवेसम्बन्धि अध्यादेशबारे मन्त्रालयमा छलफल नभएको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयकी प्रवक्ता लिलादेवी गड्तौला निरौलाले बताइन् ।

संसदमा विचाराधीन विधेयक रहेको अवस्थामा विधेयक फिर्ता लिन संसदको निर्णय आवश्यक भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले छलफल गरिएको भएपनि अध्यादेश ल्याउन कठिन रहेको बताए ।

रेल सञ्चालन गर्न कानूनभन्दा बढी कर्मचारीको आवश्यकता रहेको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए।

रेलवे कम्पनीका महाप्रबन्धक गुरू भट्टराईका अनुसार आज शनिबार भारत लगिने रेल एक महिनापछि आवश्यक तयारी पूरा गरी सञ्चालन गरिने छ ।

रेल खरिदका लागि ८४ करोड ६५लाख बजेट छुट्याएको सरकारले हालसम्म २० प्रतिशत रकम भुक्तान गरिसकेको छ ।।।