अाजको खेल मुम्बई इन्डियन्स र सिएसके बीच, कस्ले मार्ला बाजी

३ आश्विन २०७७, शनिबार

विराटनगर, असोज ३ ।

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करण आजबाट युएईमा सुरु हुँदैछ ।

यस सिजनको पहिलो खेलमा अाईपिएलका सफल दुई टिम मुम्बई इन्डियन्स र चेन्नाई सुपर किङ्स भिड्दैछन् । मुम्बई इन्डियन्स यस अघिको सिजनको विजेता हो भने चेन्नाई सुपर किङ्स उप विजेता हो ।

भारतमा कोरोना संक्रमितको संख्या बढिरहेकाले यस पटक आईपीएल युएईमा गर्न लागिएको हो ।

अाजको खेल शेख जायद स्टेडियममा नेपाली समय अनुसार साँझ ७:४५ बजेबाट सुरु हुनेछ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बइ इन्डियन्स र महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नाईले अाज अाफ्नो पक्षमा जित हात पार्न मैदानमा उत्रिनेछन् ।

दुई टिमबीचको पछिल्लो नतिजा हेर्ने हो भने मुम्बई बलियो देखिएको छ । पछिल्ला पाँच खेलमा मुम्बईले सफलता पाइरहेको छ ।१२ अौं सिजनको रोमाञ्चक फाइनलमा मुम्बइले चेन्नाईलाई १ रनले पराजित गर्दै उपाधि चुम्न सफल भएको थियो ।

कोरोना महामारीले गर्दा यो सिजनका खेल दर्शक बिना नै हुनेछन् । यस्तै भारत र चीनको सीमा विवादपछि चिनियाँ मोबाइल कम्पनी भिभो मुख्य प्रायोजकबाट हटेको छ र ड्रिम ११ नयाँ मुख्य प्रायोजक बनेको छ ।

आईपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । खेलमा मुम्बई र चेन्नाईसहित कोलकता नाइट राइडर्स, रोएल च्यालेन्जर्स बैंगलोर, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स, किंग्स ११ पञ्जाव र सनराइजर्स हैदरावादले सहभागिता जनाएका छन् ।