संविधान दिवसका अवसरमा कैदी रिहा

४ आश्विन २०७७, आईतवार
प्रतिनिधिमूल्क तस्वीर

विराटनगर, असोज ४

संविधान दिवसको अवसरमा हिजो शनिबार प्रदेश १ का विभिन्न कारागारमा रहेका ६८ जना कैदीको सजाय मिनाहा गरिएको छ ।
सुनसरीको झुम्का कारागारबाट सिफारिस गरिएका २० मध्ये १६ जनाको कैद मिनाहा गरिएको कारागारका जेलर अनिल खनालले जानकारी दिए । उनका अनुसार कारागारमा हाल एक हजार ७ सय २२ जना पुरुष कैदी रहेका छन् । २०६६ सालमा स्थापना भएको यस कारागारमा हाल पुरुष मात्र रहेका छन् ।

कारागारमा कैद भुक्तानगरिरहेका कैदीहरुको अनुशासन र चालचलनको आधारमा दसैँ, तिहार , संविधान दिवस , र गणतन्त्र दिवसको अवसरमा कारागारबाट कैद मिनाहाका लागि सिफारिस गरिन्छ । मन्त्रिपरिषद्को निर्णयले राष्ट्रपतिबाट ५० प्रतिशत कैद मिनाहा गरिन्छ ।

५० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी ५० प्रतिशत कैद कट्टा गरेर आज संविधान दिवसको अवसरमा नेपालमा २ सय ८९ जनालाई रिहा गरिएको कारागार व्यवस्थापन विभागका महानिर्देशक डिआइजी द्रोण पोखरेलले जानकारी दिए ।

नेपालको संविधानको धारा २०७६, फौजदारी कसुर सजाय तथा कार्यान्वयन २०७४ को दफा ३७ मा कैद कट्टा नियमावली र कारागार नियममा पनि ५० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी ५० प्रतिशत कैद मिनाहा गर्ने व्यवस्था रहेको तर जबरजस्ती करणी , लागूऔषध र जन्मकैदमा भने कैद छुट नहुने पोखरेलले बताए ।।।