फोन ह्याङ भएर तनाव हुनुहुन्छ? अपनाउनुहोस् यी उपायहरू

४ आश्विन २०७७, आईतवार
प्रतिनिधिमूलक तस्विर

विराटनगर। असाेज ४

स्मार्टफोनको प्रयोग गर्दै जाँदा हामीले आफ्ना प्राय कामहरु स्मार्टफोनबाट नै गर्छौ । आवश्यक डाटा लगायत अफिसका कामहरू पनि स्मार्टफोनबाट नै गर्ने गर्छौँ ।

अत्याधिक प्रयोग र डाटाहरूले गर्दा हाम्रो फोन ह्याङ हुने, ढिलो चल्ने हुन्छ । आवश्यक कामहरू छिटो गर्नुपर्दा हामीलाई यसले कठिनाई पर्छ । यो अवस्थाबाट केही हदसम्म छुटकारा पाउन तलका उपायहरु अपनाउनुहोस् ।

● फोन ह्याङ हुनबाट रोक्नका लागि तपाईंले आफ्नो स्मार्टफोनमा अटो डाउनलोडलाई बन्द गर्नुपर्ने हुन्छ । यसका लागि सुरुमा फोनको सेटिङ हुँदै सफ्टवेयर अपडेटमा जानुहोस् । जहाँ तपाईंले अटो डाउनलोडको विकल्प देख्नुहुनेछ । यसलाई बन्द गरिदिनुहोस् ।

● यसैगरी आफ्नो स्मार्टफोनमा एपको अटो अपडेट पनि बन्द गरेर राख्नुहोस् । त्यसका लागि प्ले स्टोरको सेटिङमा गएर ‘डन्ट अटो अपडेट एप्स’ मा ट्याप गर्नुहोस् । त्यस्तै आफ्नो फोनको अकाउण्ट एण्ड ब्याकअप सेटिङमा जानुहोस् । त्यसमा सबैभन्दा तल अटो सिंक डेटाको अप्सन रहेको छ, त्यसलाई बन्द गरिदिनुहोस् । यसबाट तपाईंको फोन अनावश्यक डेटाबाट भरिने छैन ।

● सँगसँगै फोन ह्याङ हुन नदिन रिसेन्ट वा नेभिगेसन बटनमा दबाएर त्यहाँ रहेका एप क्लियर गरिदिनुहोस् । यसका साथै ब्याकग्राउण्डमा चल्ने एपसमेत बन्द गरिदिनुहोस् ।

● जुन एप त्यति धेरै प्रयोगमा आउन्न, त्यसलाई एप सेक्सनमा गएर डिलिट गर्नुहोस् । यसका लागि तपाईं डिलिट गर्न चाहेको एपमा लामो समयसम्म दबाएर समेत अनइन्स्टल गर्न सक्नुहुन्छ । जसले गर्दा तपाईंको फोनको मेमोरी केही हदसम्म भए पनि खाली हुनेछ ।

● स्मार्टफोनको पृष्ठभूमिमा चल्ने प्रोसेसलाई समेत बन्द गरिदिनुहोस् । त्यसका लागि आफ्नो फोनको सेटिङमा जानुहोस् । त्यसमा सबैभन्दा तल रहेको अबाउट फोनमा ट्याप गर्नुहोस् । जसमा तपाईंले फोनको डेभलपर अप्सन फेला पार्नु हुनेछ ।त्यसलाई तपाईं अबाउट फोन अप्सनको तल देख्नुहुनेछ । त्यसपछि नो ब्याक ग्राउण्ड प्रोसेसमा दबाउनुहोस् । यसो गर्दा फोनको ब्याकग्राउण्डमा कुनै पनि एप प्रोसेस हुने छैन ।

● मोबाइलको सेटिङमा जानु होस् । त्यहाँ रहेको अबाउट फोनमा दबाउनुहोस् । फेला पार्नुभएन भने यो अप्सन सिस्टम भित्र हुनसक्छ । अब तपाईंले त्यहाँ बिल्ड नम्बर देख्न सक्नुहुनेछ । त्यसमा लगातार छ-सात पटक थिच्नुहोस् ।अब डेभलपर अप्सनमा प्रवेश गर्नुहोस् र त्यसलाई अन गर्नुहोस् । जब तपाईं डेभलपर अप्सन खोल्नुहुन्छ, त्यससँगै अनेकौं अप्सनहरु देख्न सक्नुहुनेछ । अब यसमा रहेका विण्डो एनिमेसन जूम, ट्रान्जिसन एनिमेसन स्केल र एनिमेटर ड्युरेसन स्केललाई बन्द गरिदिनुहोस् ।

● फोनको स्टोरेज तथा फाइल्सभित्र रहेको क्यास डेटा तथा मेमोरीलाई नियमित रुपमा डिलिट गर्ने बानी बसाल्नुहोस् । यस बाहेक होम स्क्रिनमा रहेको सकेसम्म थोरै आइकन मात्र राख्नुहोस् । अनावश्यक तथा अतिरिक्त फाइलहरु डिलिट गर्नुहोस् ।