गृह पेज अन्य देश धर्म सापेक्षताकाे पक्षमा…

धर्म सापेक्षताकाे पक्षमा…

४ आश्विन २०७७, आईतवार
तस्वीर- सुविद गुरागाइँ

                                                                                                                                                                        – सुविद गुरागाई

कृपया जसले ‘राज्य भनेको धर्म निरपेक्ष हुनुपर्छ,’ ‘राज्यको कुनै धर्म हुँदैन,’ आदि भनिरहेको छ, सारमा उसले धर्म शब्दको अर्थ नबुझेजस्तो लाग्छ । धर्म भनेको अभिधा अर्थमा धारण गर्नु हो । सत्य जे हो, त्यो धर्म हो । समय, परिस्थिति, व्याख्या आदि अनुसार सत्य फरक–फरक हुन सक्छ भन्नेहरू पनि छन् । तर, यो भ्रम हो । पूरा कुरा बुझ्न बाँकी रहेको अवस्था हो । सत्यलाई बुझ्नु, त्यसलाई आफूमा धारण गर्नु र सोहीअनुरूप कर्तव्य निर्वाह गर्नु, मानव धर्म हो । यसको एउटा उदाहरण हेरौं । अहिंसा परमो धर्म भनिन्छ । यसको अर्थ हो, म कुनै पनि प्रकारको हिंसा गर्दिनँ भन्ने विचार मनमा लिनु र सोहीअनुरूप व्यवहार गर्नु । निश्चय नै हिंसा पाप र अहिंसा ठूलो धर्म हो । असल आचरण, सदाचार धर्म हो ।

लक्षणा अर्थमा धर्म नीति हो, नियम हो । कर्तव्य हो । अनुशासन हो । उज्यालो, ताप दिनु सूर्य (घाम)को धर्म हो । पोल्नु आगोको, तीर्खा मेट्नु पानीको धर्म हो । आँपको रुखले आँप नै फलाउनु त्यो रुखको धर्म हो भने आँपको रुखले अरू केही फलाउनु वा फल्न थाल्नु अधर्म । दिनरात भइदिएर, आफ्नो अक्ष र कक्षमा घुमिदिएर पृथ्वीले अहिलेसम्म आफ्नो धर्म निर्वाह गरिरहेको छ । माटोको धर्म सिर्जना उमार्नु र बिरुवाको धर्म सिर्जित हुनु हो । यात्रीलाई लक्षित गन्तव्यमा प¥याउनु सवारी चालकको धर्म हो । अँध्यारोबाट उज्यालोतर्फ जाने बाटो देखाउनु गुरुको धर्म हो । त्यो बाटोमा हिँड्नु शिष्यको धर्म हो । त्यसैगरी, किसानको धर्म के हो ? चिकित्सकको धर्म के हो ? प्रहरीको धर्म के हो ? सैनिकको धर्म के हो ? न्यायाधीशको धर्म के हो ? पत्रकारको धर्म के हो ? तपाईलाई थाहा नै छ । नबुझेकालाई कुरा बुझाउनु नेतृत्व, सहजकर्ता, लेखक–कवि आदि समाजका अगुवा वर्गको धर्म हो ।

परिवारको, समाजको, राज्यको अर्थात् हरेक वर्ग समुदायको एउटा धर्म हुन्छ । जङ्गलको एउटा धर्म हुन्छ । बाघको एउटा धर्म हुन्छ । सबैले आफ्नो गच्छे र क्षमताले भ्याएसम्म धर्म धानेका हुन्छन् । व्यक्ति वा वस्तुमा सधैं रहिरहने गुण, मूल वृत्ति, प्रकृति वा स्वभाव धर्म हो, जुन स्वाभाविक र सहज हुन्छ । कुनै जाति, वर्ग, पद आदिका निम्ति निर्धारित कार्य वा व्यवहार, लोकको हित वा व्यवस्थाका लागि अँगालिने कर्म वा कर्तव्य धर्म हो । स्वर्ग प्राप्त गर्न सकिने लोक–विश्वास भएका सनातनीहरूका अनुसार पुण्य कार्य धर्म हो ।

पश्चिमाहरूले गीताको प्रशंसा त्यसै गरेका होइनन् । गीता जीवनको दर्शन हो । यसमा भनिएको छ, धर्मो रक्षति रक्षितः । अर्थात् तिमी धर्मको रक्षा गर । धर्मले तिम्रो रक्षा गर्नेछ । 

ठोस, तरल, ग्यास, अणु–परमाणु आदि जुनसुकै आकार–प्रकार भएका पदार्थको आ–आफ्नै धर्म हुन्छ । आकार नभएका भनिएकाहरूको पनि एउटा धर्म हुन्छ । निराकार केही छैन । मात्र हामीले त्यसको आकार थाहा पाउन वा व्याख्या गर्न बाँकी हो । ब्रह्माण्डको आकार गोलो, लाम्चो, चारपाटे वा अन्य कस्तो प्रकारको छ ? अहिलेसम्म वैज्ञानिकहरूले भन्न सकेका छैनन् । यसको अर्थ, ब्रह्माण्ड निराकार छ भन्ने होइन । यो कत्रो छ ? कति परसम्म छ ? खोजी हुन बाँकी छ । भनिनँ बाँकी छ ।

अहिले अधर्मले धर्मलाई जितेको छ भनिन्छ । तर, होइन । समाज यदि आफ्नो गतिमा चलिरहेको छ, मान्छे बस्न लायक छ भने हामीले बुझ्नुपर्छ, त्यहाँ धर्मले अधर्मलाई पछारेको छ । विभिन्न तह र तप्काले आ–आफ्नो काम इमानदारीपूर्वक गरिरहेका छन् र नै यो समाज चलिरहेको छ । नत्र समाजको जुइँना उहिल्यै खुस्किसकेको हुन्थ्यो । सानो उदाहरण हेरौं । यहाँ पत्रकारहरू ‘पित पत्रकारिता’ गर्छन् भन्ने आरोप छ । के साँच्चै यहाँ पत्रकारहरूले आफ्नो धर्म निर्वाह गरेका छैनन् ? यदि सबै पत्रकारहरूले लत्तो छोड्ने हो भने समाजमा पत्रकारिताको काम हुनै सक्तैन । पुर्खाहरू ‘हृदयमा हरि हुनुपर्छ,’ भन्थे । यसको अर्थ हो, हरेक मानवको अन्तरआत्मामा प्रज्ञा र करुणाको भाव विकास गर्नुपर्छ । धर्मको ख्याल हुनुपर्छ । निश्चय पनि यदि कुनै मानवमा दया, माया, सेवा, दान, त्याग जस्ता कार्मिक भाव छन् भने ऊ मानव धर्म सापेक्ष हुन्छ ।

त्यस्तै, निरपेक्ष केही हुँदैन । सबै यो पृथ्वी, विश्व ब्रह्माण्ड, यहाँका हावा, पानी, ढुङ्गा, माटो, वनस्पति, प्राणी आदिसँग सापेक्षित भएर विकास वा पतन हुने हुन्छ । जसले राज्य भनेको धर्म निरपेक्ष हुन्छ वा हुनुपर्छ भनिरहेका छन्, त्यो विचार पनि निरपेक्ष होइन । यही समाजको सापेक्षतामा विकास भएको एउटा वैकल्पिक विचार हो । एक पक्षबाट सोचिएको कुरा हो । खासमा यो विचार धर्मको खोल ओडेका कठमुल्लावादीहरूको व्यवहारले क्षुब्ध भएर व्यक्त गरिएको प्रतिक्रिया मात्र हो । यो पनि सापेक्षतावादी सिद्धान्तकै एउटा अङ्ग हो ।

यो विश्व ब्रह्माण्डमा कुनै पनि कुरो निरपेक्ष छैन । निरपेक्ष भनेको शून्य हो । शून्य केही हुँदैन । अङ्कमा शून्य देखाउनुप¥यो भने पनि वरपरबाट गोलो घेराको सहारा लिनुपर्छ । कुनै पनि सिर्जनाका लागि एउटा आधार चाहिन्छ । पृथ्वीको जन्म, जीव, वनस्पति, सभ्यता–संस्कृति, दर्शन–विचार आदिको उत्पत्ति र विकास सबै सापेक्षताको सिद्धान्त अन्तर्गत भएका तथ्य हुन् । विश्वमा कुनै पनि कुरा आफैँमा स्वतन्त्र नभई अर्कासँग कुनै न कुनै रूपमा सम्बद्ध हुन्छ भनेर मान्ने सिद्धान्त सापेक्षवाद हो । यस अर्थमा गहिरिएर मनन गर्दा के साँच्चै कुनै पनि राज्य धर्म निरपेक्ष हुन्छ ? वा हुन सक्छ ?

‘धर्म निरपेक्षता भनेको धार्मिक स्वतन्त्रता हो । सबैले आफ्नो धर्म मान्न पाउने, सबै धर्मको सम्मान हुने अवस्था हो,’ भन्नेहरू पनि केही सङ्ख्यामा छन् । उनीहरू राज्यको धर्म हुन्छ वा हुँदैन भन्ने पक्षमा तटस्थ हुन चाहनेहरू हुन् । तर, यसमा पनि धर्म सापेक्षताको पर्याप्त अंश छ । राज्यले सबै धर्मको अस्तित्व स्वीकार गर्नुपर्छ, अर्थात् सबै धर्मलाई सम्मान हुने वातावरण बनाउनुपर्छ भन्नु धर्म सापेक्षता हो । कुनै पनि राज्यले उसको धर्म जे हो त्यो पहिचान, अङ्गीकार र पालना गर्नु–गराउनुपर्छ भन्ने तर्क यसमा छ । राज्य गैर–धार्मिक हुनै सक्दैन । राज्य समानता, न्याय र धर्म संस्थापनाका लागि मानिसहरूद्वारा निर्मित एउटा विशेष अवधारणा हो । त्यसकारण पनि राज्य धर्म सापेक्ष हुनुपर्छ । राज्य धार्मिक हुनुपर्छ । राज्य न्यायिक हुनुपर्छ । म धर्म मान्दिनँ, म धर्म निरपेक्ष हुन्छु भन्न राज्यले पाउँदैन । राज्य भनेको लोककल्याणकारी हुनुपर्छ । लोकको कल्याण गर्नु राज्यको धर्म हो । यस अर्थ पनि राज्य धर्म सापेक्ष हुन्छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको बृहत् नेपाली शब्दकोशमा ‘निरपेक्ष’ शब्दको अर्थ, ‘१. कुनै कुराको वास्ता नराख्ने; अपेक्षा नभएको; वास्ता नगर्ने । २. कुनै चासो नराखिएको; उपेक्षित । ३. असम्बन्धित; सम्बन्धदेखि मुक्त,’ लेखिएको छ । के हामीले राज्यको धर्मको सवालमा चाहेको त्यस्तै हो । जसले जे गरे पनि हुने ? धर्मको हेक्का, डर नभएको समाज वा राज्य ? भर्खर जन्मिएको बच्चाको हेरचाह र सुरक्षा गरेर पशु समुदायले त आफ्नो धर्म निर्वाह गर्छ भने मानव समुदायमा त्यति पनि विवेक हुन्न ?

हालै एक जना मित्रले फेसबुकमा ‘गाईको मासु खानेहरू मङ्गल ग्रहमा पुगिसके । गाईको पिसाब खानेहरू पृथ्वीमै छन्,’ भन्दै आफ्नै अज्ञानता झल्काउने पोस्ट राखे । खासमा गोराहरू गाईको मासु खाएका कारणले मङ्गल ग्रहमा पुगेका होइनन् । हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक,’ लेखेको धेरै वर्षपछि मात्र पश्चिमाहरूले चन्द्रमामा पाइला टेकेको तथ्य ती मित्रलाई थाहा नभएको उनको कुराबाट झल्किन्छ । महाभारतकालीन समयमा विज्ञानको जुन विकास भएको कल्पना पूर्वको पवित्र भूमिमा गरिएको थियो, त्यतिको कल्पना आजसम्म पनि पश्चिमाहरूले गर्नसकेका छैनन् । क्षणमै मान्छे अलप हुने र क्षणमै मान्छे प्रकट हुने वैज्ञानिक उपलब्धि ऊ बेला कल्पना गरिएको थियो । त्यसतो उच्चतम् क्षमता विकास गर्न अझ कति वर्ष लाग्ने हो ?
आज संसारमा क्रिस्चियन धर्म सापेक्ष राष्ट्रहरू छन् । इस्लाम धर्म सापेक्ष राष्ट्रहरू छन् । बौद्ध धर्म सापेक्ष राष्ट्रहरू छन् । तर, जब हिन्दू धर्म सापेक्ष राष्ट्रको कुरा उठ्छ, ‘अहँ हुँदैन !’ भनिन्छ । किन ? अमेरिका जस्तो सम्पन्न र अग्रणी राष्ट्रका राष्ट्रपति ‘बाइबल’मा हात राखेर ‘ईश्वर’का नाममा सपथ खान्छन् । त्यो क्रिश्चियन धर्म सापेक्षता हो कि होइन । यदि होइन भने हाम्रा राष्ट्रपति÷प्रधानमन्त्रीलाई ‘गीता’मा हात राखेर ‘ईश्वर’ का नाममा सपथ खान कसले र किन रोकिराखेको छ ?

अहिले धर्म परिवर्तन गराउनेहरूको मेला लागेको छ । खासमा दुःखी, गरिब, भेदभावमा परेका, सीमान्तकृत समुदायका हिन्दू सनातनीलाई छानी–छानी धर्म परिवर्तन गराइँदै छ । यसका लागि प्रयोग भएकाहरूले प्रेम, विवाह, औषधि, पढाइ र नोकरीलाई आवश्यकताअनुसार हतियार बनाएका छन् । यो आपत्तिजनक प्रवृत्तिलाई लक्षित गर्दै अखिल विश्व गायत्री परिवार, हरिद्वारका तर्फबाट केही दिनअघि एउटा जिज्ञासा सार्वजनिक गरिएको थियो । गायत्री परिवार भन्छ, ‘भोक’भन्दा ठूलो धर्म र ‘रोटी’भन्दा ठूलो ईश्वर यदि कतै छ भने कृपया देखाइदिनुहोला, हामी पनि धर्म परिवर्तन गर्न चाहन्छौं । तर, धर्म परिवर्तन गराउन चाहनेहरूले निकै दिन बितिसक्दा पनि यो जिज्ञासाको चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।

नेपाली माटोमा जन्मे हुर्केका सिद्धार्थ गौतम, बुद्ध (ज्ञानी) भएर आजन्म हिन्दू धर्ममा सुधारको कुरा गरे । मूर्ति पूजा परम्परा र अन्धविश्वास प्रवृत्तिको विरोध गरेर बुद्धले हिन्दू धर्म संस्थागत गर्न ठूलो गुन लगाए । ‘अप्पो दिप भवः’ भनेर बुद्धले संसारभरिका मानव समुदायलाई आफूभित्र विद्यमान ‘उज्यालो’ रुपी ‘ईश्वर’ चिन्न र धर्म सापेक्ष हुन प्रेरित गरे ।
सारमा, हामी आफ्नो ‘तपोभूमि’मा पुर्खाहरूले विकास गरेको पूर्वीय सभ्यताबाट जति विमुख हुन खोज्दै छौं, उति आफ्नो पहिचान र राष्ट्रियता कमजोर बनाउँदै छौं । दुःख लाग्छ, हामी हाम्रो धरातलीय यथार्थ र गौरवशाली इतिहास बिर्सेर पश्चिमाहरूको नक्कल गर्दै के हुन उद्यत छौं ? जबकि उनीहरू नै भन्दै छन्, ‘गीताभन्दा उत्कृष्ट दर्शन अरू छैन ।’ हेनरी डेभिड थोरोलाई, ‘भागवत् गीताको तुलनामा आधुनिक जगत् र यसको साहित्य अत्यन्तै निरीह लाग्छ ।’ मेरिना क्रिस्टिनाका लागि ‘गीता अत्यन्त प्रिय ठहरिएको छ ।’ विलियम रोवर्टस्का अनुसार वेदमा लेखिएका कुराले अनन्त सत्यलाई प्रस्तुत गर्छन् ।’ आर्थर भर्सलुइ भन्छन्, ‘हामीले वेदान्ततिर फर्कनु आवश्यक छ, किनकि उपनिषद्हरूले आदिमकालदेखि प्राप्त हुने विशुद्ध तत्व–मीमांशाको ज्ञान प्रदान गर्छन् ।’

यसरी पश्चिमाहरूले गीताको प्रशंसा त्यसै गरेका होइनन् । गीता जीवनको दर्शन हो । यसमा भनिएको छ, धर्मो रक्षति रक्षितः । अर्थात् तिमी धर्मको रक्षा गर । धर्मले तिम्रो रक्षा गर्नेछ ।

 

 

[email protected]

Open

Close