विराटनगरमा ३८ सहित प्रदेश १ मा ७९ संक्रमित थपिए

४ आश्विन २०७७, आईतवार

विराटनगर । असाेज ४

मोरङको विराटनगरमा ३८ जना सहित आइतबार प्रदेशभर ७९ जना संक्रमित थपिएका छन्। सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार गरिएको ५ सय ५३ परीक्षणमा सो संख्यामा संक्रमित देखा परेका हुन्।

विराटनगरमा १३ महिला र २५ पुरुष थपिएका छन् भने कटहरीमा ५ महिला ३ पुरुष, जहदा र सुन्दरहरैंचामा एक पुरुष, बूढीगङ्गामा ५ पुरुष तथा रंगेलीका ४ पुरुष छन्।

उता सुनसरीको दुहवीमा ३ महिला ४ पुरुष, बर्जुकी एक महिला तथा स्थानीयता नखुलेका २ महिला र १ पुरुष छन्।

झापाको अर्जुनधारामा ३ पुरुष र कनकाईकी १ महिला पनि संक्रमित भएका छन्। अन्य प्रदेश बाहिरका जम्मा छ जना संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।

आइतबार प्रदेशमा मृतक शून्य छन् भने विभिन्‍न आइसोलेसनबाट कूल ३० जना डिस्चार्ज भएका छन्।

हालसम्म १ लाख १५ हजार ५७६ को पिसीआर परीक्षण भएको छ भने कूल संक्रमितको संख्या ५५ सय ७४ छ। जसमा २५ सय ३५ निको भएर घर फर्किएका छन् ने २९ सय ८६ जना उपचारका क्रममै छन्।

हालसम्म प्रदेशमा ५३ जनाको मृत्यु भइसकेको छ। अन्य प्रदेशको तुलनामा प्रदेश १ मा कोरोना संक्रमण सामान्य रूपमा बढिरहेको छ।