नेप्सेमा कारोबार खस्किएको भन्दै अर्थ मन्त्रालयले चाल्यो कडा कदम

५ आश्विन २०७७, सोमबार

विराटनगर, असोज ५

धितोपत्रको दोस्रो बजारमा ठूला कम्पनीका कारोबार अनिश्चित बनेको भन्दै अर्थ मन्त्रालयले विकल्प खोज्न निर्देशन दिएको छ ।

कारोबारमा निरन्तर अवरोध हुँदा अन्तर्राष्ट्रिय ख्यातिमा प्रतिकूल असर परेकाले मन्त्रालयले विकल्पमा जोड दिएको हो ।

मन्त्रालयको निर्देशन अनुसार नेपाल धितोपत्र बोर्डले नेप्से सञ्चालक समितिलाई पत्राचार गरेको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बताए ।

सञ्चालक समितिको जवाफ आएपछि सोही आधारमा अगाडि बढ्ने उनले बताए ।

नेप्सेले हालको सिस्टम प्रभावकारी रहेको ग्यारेन्टी गर्नुपर्ने, सिस्टमले काम नगरे नयाँ सफ्टवेयर जडान गर्नुपर्ने वा नेप्से नै प्रभावहीन भए नयाँ स्टक एक्सचेन्ज गठन गर्नुपर्ने गरी तीन विकल्प अघि सारेको छ ।

यसअघि कारोबारमा आएको गिरावटबारे मन्त्रालयले नेप्से कार्यालयमा स्थलगत निरीक्षणसमेत गरी सरोकारवालासँग छलफल गरेको थियो ।