सप्तरीमा संक्रमितको शव व्यवस्थापनमा स्थानीय निकायको चरम लापरबाही

५ आश्विन २०७७, सोमबार
तस्विर : अनलाइन खबर

विराटनगर, असोज ५
सप्तरीको राजविराजस्थित साइकृष्णा आइसोलेसन केन्द्रमा आइतबार साँझ कोरोना संक्रमणका कारण ज्यान गुमाएकी विष्णुपुर गाउँपालिका–३ घर भएकी ६२ वर्षीया महिलाको शव स्थानीय निकायको बेवास्ताका कारण १९ घण्टा बित्दा समेत व्यवस्थापन हुन सकेको थिएन ।

अविरल वर्षाले खुल्ला ठाउँमा राखिएका कारण रातभरको  शव भिज्न पुगेको र गत असोज २ गते राजविराजकै गजेनद्रनारायणसिंह अस्पताल भर्ना भएकोमा हिजो आइतबार कोरोना संक्रमित पुष्टि भई आइसोलेसनमा बसेको केही समयमै ज्यान गुमाएकी उनको शव उठ्न नसकी वर्षाको पानीले भिजेको आफन्तको गुनासो छ ।

यता, खाना खाने स्थाननजिकै शव राख्दा खाना खान नपाएको भन्दै आइसोलेसनमा रहेका संक्रमितले नाराबाजीसमेत गरेका छन्।

प्रमुख जिल्ला अभिकारी शंकरहरि आचार्यका अनुसार स्थानीय तहका जनप्रतिनिभिको बेवास्ताका कारण शव व्यवस्थापन हुन नसकेको हो । गाउँपालिका प्रमुखले मोबाइल स्वीच अफ गरेको आरोप लगाउँदै उनले आफूहरु तत्काल शव व्यवस्थापनका लागि तयार रहेको जिकिर गरे ।