कञ्चनपुरमा भारतीय सीमाना नजीकका ४ जना नेपाली अपहृत

६ आश्विन २०७७, मंगलवार
सांकेतिक तस्वीर

विराटनगर । असाेज ६

भारतीय सीमावर्ती क्षेत्रमा माछा मार्न गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले हिजो साँझ अपहरण गरेका छन् । उनीहरूलाई सिमा क्षेत्र नजिकको खल्लाबाट भारतीयले अपहरण गरेका हुन्।

बेलडाॅडीको वडा नम्बर ५ मा अवस्थित सीमास्तम्भ नम्बर ७८५÷२ र ७८६ को बीचमा रहेको खल्लामा माछा मार्नका लागि गएका २६ वर्षीय वीरेन्द्र खत्री, २५ वर्षीय भोजराज रोकाया, ३२ वर्षीय मानबहादुर सुनार र ४० वर्षीय पदम सुनारलाई दुई भारतीयले नियन्त्रणमा लिई भारततर्फ लगेका छन् ।

भारतीय पक्षले उनीहरूसॅ जनही २० हजार फिरौती रकम मागेको खबर निजका परिवारजनबाट सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) बेलडाँडीमा प्राप्त भएको सशस्त्र प्रहरी वल नेपाल नं ३५ हेडक्र्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । बीओपी झिलमिलाबाट सशस्त्र प्रहरी निरीक्षक गंगादत्त बोगटीको कमाण्डमा गएको सात जनाको टोलीले भारतीय एसएसबीको टाटरगञ्जसँग समन्वय गरिरहेको छ ।

त्यस्तै पुनर्वास नगरपालिका–८ मोतियाफाँटबाट पृथ्वी बस्तीका ३५ वर्षीय डम्बरे सुनारलाई हिजो साँझ नै भारतीय वन रक्षक सुमेरनगरको टोलीले नियन्त्रणमा लिएको छ ।

उनलाई काठ काट्दै गरेको अवस्थामा वनरक्षकको टोलीले नियन्त्रणमा लिएको भनेपनि उनका बुवा थले सुनारले दशगजा नजिकैको सीमास्तम्भ नम्बर ७६६÷७ को नजिकै रहेको नालामा माछा मार्ने क्रममा भारतीय वनरक्षकले नियन्त्रणमा लिएर लगेको भनी इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा निवेदन दिएका छन् ।