तेस्राे मुलुकबाट आयातमा प्रतिबन्ध लागेपछि ५० कन्टेनर छाेकडा नष्ट हुने अवस्थामा

६ आश्विन २०७७, मंगलवार

व्यापारीकाे कराेडाैँ लगानी डुब्ने खतरामा

विराटनगर । असाेज ६

नेपालका लागि सुक्खा बन्दरगाह हुँदै तेस्रो मुलुकबाट प्रवेश गर्ने छोकडामा प्रतिबन्ध लगाएपछि ५० कन्टेनर छोकडा वीरगञ्ज भन्सारमा रोकिएको छ ।

नेपाल सरकारले चैत १६ गतेपछि आएको छोकडा प्रवेशगर्न नदिने निर्देशन दिएपछि लगभग साढे सात करोड बराबरको छोकडा बन्दरगाहमै अड्किएको सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सियाका निर्मित प्रमुख जगदिश पुर्वेले जनाएका छन् । छोकडा छोड्ने वा नछोड्ने भन्नेबारे सरकारको निर्देशन नआएकाले जाँच पास हुन नसकेको बताएका छन् ।

सरकारको निर्णयपछि मरिच, केराउ र सुपारी नेपाल भित्रिए पनि छोकडा भने विगत पाँच महिनाभन्दा लामो समयदेखि बन्दरगाहमा रोकिएको छोकडा सडेर बिग्रिन थालेको अायातकर्ता नगनित अग्रवालले गुनासो गरेका छन् ।

सरकारले केराउ, मरिच र सुपारी जुन प्रक्रियाबाट छोड्यो त्यही प्रक्रियाबाट छोकडा पनि छोड्नुपर्ने व्यवसायीहरुको माग छ ।

नेपाल सरकारले विदेशी मुद्रा सञ्चितमा दबाब बढेको भन्दै गत चैत १६ गते पछाडि यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।