नक्कली भ्याट बिल प्रयाेग गरी कर छल्ने तीन कम्पनीविरूद्ध २५ करोड ५७ लाख बिगाेसहित मुद्दा

६ आश्विन २०७७, मंगलवार

विराटनगर । असाेज ६

राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रकरणमा काठमाडौं, भक्तपुर र बनेपाका तीन कम्पनीविरूद्ध  मुद्दा दायर गरेको छ। ती कम्पनीलाई २५ करोड ५७ लाख ९७ हजार ६८ रुपैयाँ बराबरकाे बिगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हाे ।

तीन वटै कम्पनीले ७ करोड ५५ लाख २५ हजार ५८४ मूल्य अभिवृद्धि कर र १८ करोड २ लाख ७१ हजार ४८४ रुपैयाँ आयकर छलेको बताइउकाे छ। उच्च अदालत पाटनमा गरिएकाे मुद्दा दायरमा संलग्न सबै कम्पनीलाई बिगोको दोब्बर जरिवाना र कैद सजाय समेत माग गरिएको छ।

मुद्दा परेका कम्पनीमा काठमाडौं महानगरपालिका-३२ को बिग प्लान सप्लायर्स/बिग प्लान ब्याग उद्योग, भक्तपुरको एपी ट्रेड एन्ड सप्लायर्स तथा बनेपामा  रहेकाे सम्मानित ट्रेड कन्सर्न रहेका छन् ।

प्रतिवादी तीनवटै कम्पनीबाट कर छली गर्नेमा रमाप्रसाद चाैलागाइँ रहेका छन् । अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार चौलागाईंले दर्ता गरेका ती कम्पनीका दुई प्रोप्राइटरलाई पनि प्रतिवादी बनाइएको छ।

पटक पटककाे काराेबारमा करीब १३ कराेेडभन्दा बढी झुठा बिल देखाइ छली गरेकाे महानगरले बताएकाे छ । प्रतिवादीहरूलाइ कानूनअनुसार कारबाहीका लागि मुद्दा दायर गरी प्रक्रिया थालिएकाे विभागले जनाएकाे छ । यसबारे सेताेपाटीमा समाचार प्रकाशित छ ।