बलि दिनका लागि भारततर्फ लगिँदै गरेकी किशोरीको उद्धार, संलग्न तीन जना पक्राउ

६ आश्विन २०७७, मंगलवार

विराटनगर । असोज ६

सुनसरीको रामधुनी नगरपालिकाकी १७ बर्षीय एक किशोरीलाई बलि दिनका लागि भारततर्फ लाँदै गरेको अवस्थामा उद्धार गरिएको छ। घटनामा संलग्न तीन जनालाई पक्राउ गरी मङ्गलबार प्रहरीले सार्वजनिक गरिसकेको छ।

विराटनगर पूजामा जाने र त्यहाँ ५ हजार पाउने आश्वासन दिलाएर किशोरीलाई फकाएर किशोरीकै छिमेकमा बस्ने २२ बर्षीय युवती मनिका ढकालले विराटनगर पुर्याएको खुलेको छ।

त्यस्तै सप्तरीका सुदीपकुमार र प्रदीपकुमार मण्डल मुख्य योजनाकार रहेको पनि खुलेको हो। मोरङका प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार घटनाको प्रकृति हेर्दा युवतीलाई चोरबाटो भएर भारतको फार्बिसगञ्ज पुर्याइएको थियो। आफू बेचिन लागेको थाहा पाएर किशोरी भाग्दै विराटनगर १७ स्थित इस्लामपुर आइपुगेकी थिइन् भने उनलाई पिछा गर्दै फर्काउँदै तीनै जना आएका थिए।

पक्राउ परेकी युवतीले किशोरीलाई पूजामा जाने भनिनु र अभियुक्तहरूबीच महिनाबारी पनि नभएकी, ५ फीट ४ इन्च उचाई भएकी आकर्षक किशोरीको माग गर्नुको तथ्यले भारतितर बलि दिनका लगिएको हो कि भन्ने आशंका रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सुमितका भिनाजु भारतमा निर्माण व्यवसायी रहेको र उनले १२ लाख रूपैयाँ दिएर युवती ल्याउन आश्वासन दिएका थिए भने ढकाललाई ४-५ लाख दिने सहमति भएको जनाइएको छ। प्रदीप भनिने सुमितका सहयोगी रहेको खुलेको छ।

विराटनगरमा पूजा रहेको, त्यहाँ उपस्थित हुँदा कालो कपडा लगाउनुपर्ने तथा किशोरीलाई गतिलो फोन पनि किनिदिने भन्दै घरबाट जबर्जस्ती लिएर हिडेको खुलेको छ।

विराटनगरमा रहेको ‘साना हातहरू’ संस्थाको सहयोगमा अभियुक्तलाई विराटनगरमा किशोरीलाई पिछा गर्दै आउने क्रममा पक्राउ गरिएको एसपी खड्काले बताए।

विराटनगरमा एकदिन राखेर पुनः भारत लैजाने योजना मुताबिक उनीहरू यतै आएका बेला पक्राउ गर्न संभव भएको प्रहरीले जनाएको छ।

गाडीबाट हाम्फालेर राती/राती विराटनगर आइपुगेकी किशोरीको घरमा दुईचार घण्टामै आइपुग्ने भनेर ढकालले आश्वस्त पारेकी थिइन्। साँझसम्म पनि न आइपुगेपछि फोन गर्दा दुवैको स्वीच अफ थियो।

घटनाको सबै प्रकृति हेर्दा आङ्ग नै सिरिङ्ग हुन्छ। पूरै चलचित्र जस्तो लाग्ने घटनामा ठूलै गिरोह सक्रिय रहेको हुनसक्ने भन्दै प्रहरीले गम्भीर अनुसन्धान थाल्ने बताएको छ।

अभियुक्त तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसार मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान थालिएको एसपी खड्काले जानकारी दिए।