नागरिकको उद्दारमा सरकारको बेवास्ता

७ आश्विन २०७७, बुधबार

विराटनगर, असोज ७

कोरोना भाइरसको महामारी सुरु भएयता सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई उद्दार गर्न सुरु गरेपनि हालसम्म उद्दार पूरा हुन सकेको छैन । स्वदेश फर्कनका लागि एक लाख ३३ हजार चार सय ८५ जनामध्ये हालसम्म ४८ हजार आठ सय ६५ जनालाई मात्र स्वदेश फर्काइएको श्रम, रोजगार तथा सामाजिक सुराक्षा मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले सरकारले नागरिकलाई स्वदेश फर्काउन प्रभावकारी काम नगरेको आयोगको ठहर रहेको बताउँदै आयोगले सरकारलाई उडान तालिका पेस गर्न निर्देशन दिएको जानकारी दिए । पीसीआर नेगेटिभ भएकालाई मात्र स्वदेश फर्काउने सरकारी नीति रहेकोमा हाल विश्वका विभिन्न मुलुकबाट दैनिक करिब एक हजार पाँच सयको संख्यामा सरकारले नेपालीलाई स्वदेश ल्याउँदै आएको छ ।

मलेसिया तथा खाडी राष्ट्रमा रहेका ने्पाली दूतावासले उडान संख्या बढाउन आग्रह गरेपनि सरकारले थप्न सकेको छैन । सरकारले यूएईबाट स्वदेश आउन चाहने ४८ हजार जनामध्ये हालसम्म २० हजार ६ सय ५७ जनालाई मात्र स्वदेश ल्याएको छ । साउदी अरबमा २८ हजार आकांक्षीमध्ये १० हजार जनाले मात्र स्वदेश फर्कन पाएको साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रप्रसाद राजपूतले बताए । स्वदेश फर्काउन नसक्ने सरकारविरुद्द आक्रोशित नेपाली कामदारले विदेशमै प्रदर्शन गरेका छन् ।

मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार त्यहाँका १८ हजार आवेदकमध्ये ११ हजारलाई स्वदेश फर्काइएकोमा थप ८ हजारले आवेदन दिएका छन् । मलेसियाका लागि हप्तामा १६ उडान आवश्यक रहेको उनको भनाइ छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्यसमेत रहेका परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले राष्ट्रिय उडान नभएको देशमा नेपाल एयरलाइन्सलाई प्राथमिकता दिइएको बताए ।