दिपायलमा मौसमी सूचना केन्द्रको स्थापना

७ आश्विन २०७७, बुधबार

विराटनगर । असाेज ७

कृषि विकास निर्देशनालय दिपायलले सुदूरपश्चिमका सात ठाउँमा स्वचालित मौसमी सूचना संकलन केन्द्रको स्थापना गरेको छ । केन्द्रले मौसमी सूचना संकलन गर्ने भएकाले किसानलाई ‘रियल टाइम’मा मौसम सम्बन्धी विवरण पाउनका लागि सहज हुनेछ ।

कृषि विकास निर्देशनालय दिपायलले रु २९ लाखको लागतमा सुदूरपश्चिमका टिकापुर पोलिटेक्निक इन्स्टिच्युट कैलाली, कृषि ज्ञान केन्द्र कञ्चनपुर, कृषि ज्ञान केन्द्र बझाङ, सुक्खा फलफूल विकास केन्द्र सतबाझ बैतडी, कृषि क्याम्पस गोकुले, तरकारी बीउ उत्पादन केन्द्र डडेल्धुरा र कृषि विकास निर्देशनालय दिपायल गरेर सात ठाउँमा मौसमी सूचना केन्द्रको निर्माण गरेको हो ।

केन्द्रमा जडान भएको मौसम सूचक यन्त्रबाट वर्षा हुने-नहुने, वायुको तापक्रम, अधिकतम तापक्रम, न्यूनतम तापक्रम, हावाहुरी, बादल लाग्ने-नलाग्ने, सापेक्षिक आद्रता, हावाको गति र हावाको दिशाबारे जानकारी लिन सकिने सकिनेछ ।

केन्द्रमा जडान गरिएका उपकरणले उपलब्ध गराएको विवरण निर्देशनालयको वेवसाइटमा हेर्न सकिने र सरोकारवालालाई मौसमको जानकारी दिन सकिने व्यवस्थासमेत रहेको छ ।

सुचना केन्द्रको स्थापना भएसँगै किसानले लगाएको बालीमा हुनसक्ने हानी–नोक्सानी कम गर्न, बाली सुरक्षा गर्न र बाली लगाउनका लागि प्रतिकूल मौसमबारे जानकारी दिनका लागि सघाउ पुग्ने निर्देशनालयका सूचना अधिकारी टेकबहादुर विष्टले बताएका छन् ।