Logo

आमाकी साथी हुँ भनी बालबालिकाका गहना लुट्ने महिला र सुन खरीद गर्ने पुरुष पक्राउ

Logo 2020-09-23 03-09    अभिमन्यु अभिजित

तस्वीर- सेताेपाटी

विराटनगर । असाेज ७

काठमाडौं उपत्यकाका बालबालिकालाई ललाई फकाई उनीहरूको मुन्द्राहरू लुट्ने महिला र पुरूष पक्राउ परेका छन्।

म्याग्दी घर भई बालाजु बस्दै आएकी ३२ वर्षीया संगीता श्रेष्ठ र काभ्रे घर भई ललितपुरको सौगल बस्ने ३० वर्षीय मुरली विकलाई मंगलबार महानगरीय प्रहरी वृत्तले पक्राउ गरेको हो।

काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा बालबालिकाको कानको मुन्द्रा लुट्ने गरेको आरोपमा संगीतालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्रसिंह राठौरले बताए।

राठौरले बताए अनुसार बालबालिकालाई चक्लेट वा आइसक्रिम दिई आमाकी साथी हुँ नडराउनु भनी आश्वस्त पार्ने र गहना लुट्ने गरेको खुलेको छ। गोकर्णेश्वर नगरपालिका-८ माकलबारीबाट उनी पक्राउ परेकी हुन्।

काँडाघारी, बौद्ध र मनमैजु लगायतका विभिन्न ठाउँबाट उनले लाखौं बराबरको गहना लुटेको पाइएको छ। लुटिएका बालबालिकाका अविभावक बौद्ध प्रहरी परिसर पुगेका छन्।

संगीताले लुटेका सुनहरू किनेर बिक्री गरेको आरोपमा मुरालीलाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । मुराली ललितपुर महानगरपालिका-६ स्थित कनिबहालमा दर्ता नै नगरी सुन पसल सञ्चालन गर्छन्।

किनिएका सुनको स्वरूप परिवर्तन गरी बेच्ने गरेको तथ्य खुलेको छ। ६२ लाल सुनको सिक्री तथा ६१ लाल गलाएर राखेको सुन तथा ३० हजार नगदसहित उनीहरू पक्राउ परेका छन्।

नयाँ प्रकृतिको घटना देखिएको र यसमा संलग्न अरू पनि रहेको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?