सिराहा कारागारका ५०७ कैदीमा कोरोना संक्रमण देखिएपछि

७ आश्विन २०७७, बुधबार
प्रतीनिधी मुल्क तस्विर

विराटनगर । असोज ७

सिराहा कारागारका ५०७ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

५९९ कैदीबन्दी रहेको कारागारमा ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको कारागार प्रशासनले जनाएको छ । १२५ जना कैदीबन्दीको क्षमता रहेको सो कारागारमा हाल ५९९ कैदीबन्दी रहेको र एकैचोटी यत्रो ठूलो संख्यामा कैदीबन्दीलाई संक्रमण देखापर्दा कारागार प्रशासनलाई संक्रमितलाई व्यवस्थापन गर्न समस्या अाइपरेको छ। संक्रमित सबैलाई कारागारभित्रै राख्नुपर्ने बाध्यताका कारण अझ जोखिम बढेको छ ।

सरकारबाट संक्रमित कैदीबन्दीलाई सुरक्षित आइसोलेसनमा राख्ने निर्देशन नआउँदा कारागारभित्रै राख्नुपर्ने बाध्यता रहेको कारागार व्यवस्था प्रमुख बबिता महतोले बताएकि छिन् ।

४१औँ सामाजिक सेवा दिवसको अवसरमा मुक्ति नेपाल नामक संस्थाले समस्यामा रहेको कारागारका संक्रमित कैदीबन्दीका लागि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको उपस्थितिमा संस्थाका अध्यक्ष श्याम साहले कैदीबन्दीका लागि एक हजार थान मास्क, एक लिटर स्यानिटाइजर र महिला कैदीबन्दीका लागि २० थान झुल कारागार प्रमुखलाई हस्तान्तण गरेका थिए ।