छठपछि सबै परीक्षा गर्ने त्रिविकाे तयारी, सेमेष्टर परीक्षा पनि भाैतिक उपस्थितिमै हुने

७ आश्विन २०७७, बुधबार

विराटनगर । असाेज ७

त्रिविले कोरोनाका कारणले रोकिएका सबै परीक्षा सञ्चालनको तयारी गरेको छ ।

त्रिविको कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षाका लागि तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरिएको बताइएको छ।

विश्वविद्यालयले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा दिने वैकल्पिक व्यवस्थासहित छठलगत्तै परीक्षाको तयारी थाल्न निर्देशन दिएको हो । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार कोभिड–१९ का कारणले सबै रोकिएका परीक्षा छठलगत्तै गर्ने गरी दशैैं अगाडि नै परीक्षाको कार्यतालिका सार्वजनिक गर्न सम्बन्धित डिन कार्यालयलाई पत्रचार पनि गरिएको छ ।

त्यस्तै जोशीले विद्यार्थी थोरै भएका परीक्षा भने दशैँ र तिहारको बीचमा गर्नेसक्ने जनाएका छन्। उनले भने- “यही अहिलेको स्थितिमा हामी छठपछि परीक्षा लिने तयारीमा रहेको छौ। स्थिति अहिलेको भन्दा जटिल भयो भने फेरि पनि के गर्ने भन्ने हुन्छ, होइन भने छठपछि सबै परीक्षा हुनेछन् ।”

परीक्षा नियन्त्रण कार्यालयले नै सबै डिन कार्यालयलाई परीक्षाको तयारी थाल्नका लागि परिपत्र गर्ने जोशीले जानकारी दिएका छन्। भौतिक दूरी र स्वास्थ्यको मापदण्ड तोकेर परीक्षा लिने व्यवस्था हुनेछ । साथै पनिकाले वार्षिक परीक्षा र सम्बन्धित डिन कार्यालयले सेमेष्टर परीक्षा लिने पनि बताएका छन्।

त्रिविका कूलसचिव पेशल दाहालका अनुसार स्थगित भएका सबै परीक्षा सञ्चालन गर्नका लागि तयार गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइसकिएको छ।

गत चैत्रदेखि यता रोकिएका सबै परीक्षा गराउने तथा भर्चुअल रूपमा गरिने भनिएपनि अब भौतिक रूपमै उपस्थित भएर परीक्षा सञ्चालन हुने तयारी रहेको पनि दाहालले बताएका छन्।

आगामी माघसम्म परीक्षा सकेर फागुनदेखि नियमित पढाइ हुने दाहालले बताएका हुन्।