लगातारको बर्षाले विराटनगरका अधिकांश क्षेत्रमा डुबान (फोटो फिचर)

८ आश्विन २०७७, बिहीबार

विराटनगर । असोज ७

विगत केही दिनदेखि परेको लगातारको बर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ।

विराटनगर महानगरपालिकाको १३ नंबर वडामा भने बाडीको वितण्डा देखिएको छ। प्रायः मानिसले घर बनाउँदा पैनी मिचेर बनाएको तथा अव्यवस्थित ढल निकासमा थुप्रिने फोहोरका कारण पनि डुबान बढ्दो क्रममा छ।

विराटनगर महानगरले अरबौं खर्चेर शहर व्यवस्थापनका लागि लागाने भनेपनि बर्षेनी यस्तै डुबान खेप्नुपरेको १३ नं वडाका स्थानीयको गुनासो छ। 'जस्को पैसा र पावर छ उस्ले खोला तथा पैनी मिचेर घर बनाएको छ। सर्वसाधारणलाई नियमानुसार घर बनाउन नक्शा पासमा पनि झमेला गरिदिने महानागरले यस्तालाई कारबाही गर्न सक्दैन! ' एक स्थानीयले गुनासो पोखे।

सानो झुप्रोमा २ फीटसम्म पानी आएपछि स्थानीयहरूको बिचल्ली भएको छ। कतिपयले सडकमै पानी बग्ने नाली थुनेर बालुवा तथा गिट्टी थुपारेका छन् भने कतिले टीन लगाएर पानी थुन्ने प्रयास गरेका छन्।

विराटनगरका कतिपय उद्योग तथा कलकारखानामा पनि बाढी पस्ने क्रममा छ। नगरपालिकालाई ढल, सरसफाइ तथा अन्य सुविधाका नाउँमा बर्षेनी कर तिरेपनि कहिल्यै डुबानको समस्या समाधान नभएको एक उद्योगीले बताए।

नाम नखुलाउने शर्तमा एकजना स्थानीयले भने- 'नेताहरूलाई महलमा बसेर रमित हेर्न, तर जनताको यो दुःखमा कहिल्यै मह्लम लगाउने नेता पाइएको छैन। '